कोरोना भाइरस जतिसुकै भयावह वा खतरनाक होस्, त्यसलाई मानिसले जाँगर चलायो भने सहजै नियन्त्रण गर्न सक्छ। कोरोनाबाट जोगिन नयाँ काम र गतिलो खर्च पनि गर्नुपर्दैन। व्यक्तिगत सरसफाइ एवं शारीरिक स्वास्थ्यका न्यूनतम मापदण्डलाई पालना मात्रै गरे पुग्छ। जुन कुरा कोरोना आउनुभन्दा पहिलेदेखि नै हामीलाई थाहा थियो। सफा मास्क प्रयोग गर्ने, हातले अनुहार वा गुप्ताङ्गमा नछुने, छुनै परे सेनिटाइज गरेर वा साबुन–पानीले हात धोएर मात्रै छुने, पिउने वा खाने वस्तुलाई राम्ररी उमालेर वा पकाएर मात्रै उपभोेग गर्ने। थुक–खकार, –याल, सिङ्गान, दिसा, पिसाब जथाभावी नगर्ने। यसअलावा मानिस वा अन्य प्राणीसँग कम्तीमा दुई मिटरको शारीरिक दूरीमा रहने। यति कुरा पालना गरियो भने कोरोनाले हाम्रो शरीरमा प्रवेश पाउँदैन। जुन भाइरस हाम्रो शरीरमा प्रवेश हुनै सक्दैन भने त्यससँग आतङ्कित हुनु पनि परेन। उल्लिखित सावधानीले कोरोना मात्रै होइन, झाडाबान्ता, हैजा, रुघाखोकी, कमलपित्त, क्षयरोगलगायतका अन्य सरुवा रोगबाट पनि जोगिन सकिन्छ। थोरै सावधानी अपनाउँदा यतिधेरै जोखिमबाट बच्न सकिन्छ भने किन अल्छी र अटेरी बन्ने ?
एक अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको दूरीमा रहँदा अरू पनि धेरै जोखिमबाट बच्न सकिन्छ। दूरी कायम गर्दा छालाको रोगको सङ्क्रमण हुँदैन। काखी गन्हाउने, दाँत तथा श्वास गन्हाउने समस्याबाट बच्न सकिन्छ। त्यसैगरी, चोरी तथा पाकेटमारी हुन पाउँदैन। यौनजन्य हिंसाको वातावरण बन्न नपाउनुका साथै यसले व्यक्तिगत सुरक्षामा समेत महत्वपूर्ण टेवा पुग्दछ। कहीं पनि एकअर्काबीच दूरी कायम गरेर बस्दा यदि कोही व्यक्ति जबरजस्ती नजीकिन खोजेमा त्यहाँ शङ्का गर्न र सुरक्षाका उपायहरू अपनाउन सकिन्छ। उल्लिखित स्वास्थ्य तथा शारीरिक दूरीका कुराहरू मानिसले दैनिक जीवनमा अपनाउनुपर्ने न्यूनतम अनुशासन पनि हुन्। भाइरसले आफ्नो गुण अनुसार काम गरिरहेको छ, मानव भने आफ्नो कामबाट चुकिरहेको छ। अहिलेको प्रतिस्पर्धा कोरोनाले मानवलाई पछार्ने कि मानवले कोरोनालाई जित्ने भन्ने हो। कुनै पनि प्रतिस्पर्धामा जो अल्छी छ, उही पराजित हुन्छ। अर्थात् जसले कम तयारी गरेको छ, उसैको हार हुने हो। गरेर पनि सकिने वा गरेर हुने काम नगर्नु नै अल्छीपन हो। कोरोनासँगको लडाइँमा मानव अल्छी साबित हुँदैछ। सर्वसाधारण मानवले गर्न सक्ने सामान्य स्वास्थ्य मापदण्ड अपनाउनसमेत हामी चुकिरहेका छौं। फलस्वरूप मानव स्वास्थ्यका धेरै फाइदा गुमाउनुका साथै घातक भाइरस कोरोनालाई आफ्नो शरीरमा स्वागत गरिरहेका छौं।
निर्धारित स्वास्थ्य मापदण्ड समाजका सबैजनाले अपनाउने हो भने बन्द तथा लकडाउनको जरुरी छैन। मापदण्ड र शारीरिक दूरी अपनाउँदै बजार, उद्योग, कलकारखाना सञ्चालन गरे पनि कोरोनाले बिगार्न सक्दैन। हाम्रो हातसम्म कोरोना टाँसिन सक्ला, लगाएको मास्कको बाहिरपट्टिसम्म कोरोना भाइरस आइपुग्न सक्छ, त्यसैगरी हामीले खाने वस्तु र पिउने पानीसम्म पनि भाइरस आउन सक्ला, त्यसले कुनै फरक पर्दैन। यदि हामीले न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएका छौं भने भाइरस हाम्रो शरीरमा प्रवेश गर्न सक्दैन। यसले जीवन त बच्छ नै बन्द, लकडाउन, निषेधाज्ञाबाट अर्थतन्त्रमा हुने अपूरणीय क्षतिबाट पनि व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई समेत बचाउन सक्छौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here