प्रस, परवानीपुर, २ वैशाख/
राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुर्ईजना कर्मचारीको मृत्यु भएको छ। बारामा सवारी दुर्घटनामा परी हिजो राति उनीहरूको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा हेटौंडामा कार्यरत विभागका सूचक (हवल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पिप्लेको बालगङ्गा पुलनजीक मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको हो। पथलैयाबाट निजगढतर्फ ना.२७प ६३६ नंको मोटरसाइकलमा जाने क्रममा बालगङ्गामा सो दुर्घटना भएको हो छ। सूचक झाको घटनास्थलमैं मृत्यु भएको थियो भने सहायक सूचक चित्रकारको वीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैको शव नारायणी अस्पतालमा शल्यपरीक्षणको लागि राखिएको छ।