नितेश कर्ण, वीरगंज, ३१ चैत/
महावीरप्रसाद रघुवीर राम त्रिजुद्ध प्राविधिक नमूना माविका प्रधानाध्यापक हरेन्द्रप्रसाद कुर्मीले विद्यालयमा सबै किसिमका स्वास्थ्य मापदण्ड अपनाउन नसकिने बताएका छन्। उनले आफ्नो विद्यालयमा तीन हजार विद्यार्थी रहेको र उनीहरूलाई न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन लगाइएको बताए। साबुन–पानीले हात धुने र मास्क लगाउने जस्ता स्वास्थ्य मापदण्ड अपनाउन लगाए पनि सामाजिक दूरी कायम गर्न अप्ठ्यारो भएको बताए। उनले हाल विद्यालयमा परीक्षा सञ्चालन भइरहेको र एउटा बेन्चमा तीनजना परीक्षार्थी राखेर परीक्षा लिनुपरेको बताए। एकजना विद्यार्थीलाई एउटा बेन्चमा राखेर परीक्षा लिने हो भने लामो समय लाग्ने हुनाले तीनजना राखेर परीक्षा लिइरहेको बताए। हाल विद्यालय दुई चरणमा सञ्चालन भइरहेको प्रअ कुर्मीले बताए। उनले विद्यालयलाई यसअघि क्वारेन्टाइन बनाइएको र त्यसपछिको अवस्थामा भौतिक संरचना तथा फर्निचरको मरम्मत सम्भार नगरिएकोमा दुःखेसो पोखे। विद्यालयजस्तो संवेदनशील ठाउँमा क्वारेन्टाइन बनाइएको र पछि फर्निचर आदि खराब हुँदा स्थानीय र सङ्घ सरकारले सहयोग नगरेको बताए। उनले विद्यार्थीहरूको भीडमा सेवा दिंदै आएका शिक्षकहरूलाई कोरोनाविरुद्ध खोप नलगाइएकोमा आक्रोश व्यक्त गरे। शिक्षकहरूप्रति सरकारको रवैया राम्रो नभएको उनले टिप्पणी गरे। जोखिममा काम गरेका शिक्षकहरूलाई खोप दिनुपर्ने उनको भनाइ छ। विद्यालयमा भौतिक संरचनाको कमी, जनशक्तिको अभाव रहेको भन्दै उनले यी समस्यालाई समाधान गरे शैक्षिक गुणस्तर बढ्ने दाबी गरे।
ग्रामीण क्षेत्रका विद्यालय झनै भद्रगोल
ओमप्रकाश चौधरी, सेढवा/
कोरोना सङ्क्रमण बढेको र कोभिड सङ्कट व्यवस्थापन समितिले स्वास्थ्य मापदण्ड पूरा गर्न अनिवार्यरूपमा मास्क लगाउन, साबुन–पानीले हात धुनजस्ता कार्यहरू गर्न निरन्तर आग्रह गर्दै आए पनि पर्साका ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा सो मापदण्ड अपनाइएको छैन। ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, धोबिनी, छिपहरमाईलगायतका गापामा रहेका सामुदायिक विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको छैन।
विद्यार्थीहरूलाई साबुन–पानीको व्यवस्था गरिएको छैन भने मास्क पनि अनिवार्य गरिएको छैन। विद्यालयका बेन्चमा छात्रछात्राहरू खचाखच कोचिएर अध्ययन गर्नुपर्ने पुरानै अवस्था विद्यमान छ।
सखुवाप्रसौनी गापास्थित नेरामावि महुवनका प्रअ भरत गिरीले गापाबाट यससम्बन्धी निर्देशन नआएको कारण पुरानै तरीकाबाट विद्यालय सञ्चालन भइरहेको बताए। उनले विद्यार्थीहरूलाई स्वास्थ्य मापदण्डका विषयमा जानकारी गराए पनि बाध्यकारी नबनाइएको बताए। मन लागे विद्यार्थीले हात धुने, मास्क लगाउने गर्छन् र त्यस्तो नगर्नेलाई किन नगरेको भनी नसोधिएको प्रअ गिरीले प्रस्टयाए।
ठोरी गापा–४ स्थित उच्च मावि विजयबस्तीका प्रअ नारायण लामाले लकडाउनपछि विद्यालयमा एकपटक गापाले सेनिटाइज गरेको र अहिले कुनै सहयोग नगरेको बताए। उनले विद्यालयको निर्देशन अनुसार केही विद्यार्थीले मास्क लगाउने गरेको बताए। उनले गर्मी बढेको र कक्षा कोठामा विद्यार्थीहरू कोचिएर पढ्नुपर्ने हुँदा मास्क लगाएर अध्ययन गर्दा श्वासप्रश्वासमा समस्या हुने विद्यार्थीहरूले गुनासो गरेको बताए। उनले सामुदायिक विद्यालयहरूमा सामाजिक दूरी कायम गरेर अध्यापन गराउन नसकिने बताए।
पटेर्वासुगौली गापा शिक्षा शाखा संयोजक शम्भु साहले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएर गापा अन्तर्गतका विद्यालयहरू सञ्चालन भएको बताए। उनले एक साताभित्र गापाका सबै विद्यालयमा मास्क वितरण गर्ने र सेनिटाइजरको व्यवस्था गर्ने आश्वासन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here