प्रस, परवानीपुर, ३० चैत/
फूटबलका चर्चित खेलाडी गणेश थापाले खेलेको ऐतिहासिक खेलकूद मैदान परवानीपुरमा वैशाख ११ गतेदेखि परवानीपुर गोल्डकप–२०७८ आयोजना हुने भएको छ।
परवानीपुर गाउँपालिका र वीरगंज महानगरपालिका–२१ को सहयोगमा परवानीपुरका दुईवटा क्लबको संयुक्त आयोजनामा सो प्रतियोगिता हुन लागेको हो। शक्ति युवा क्लब र परवानीपुर युवा क्लबको आयोजनामा वैशाख १८ गतेसम्म हुने प्रतियोगितामा वीरगंजका दुईवटा क्लब, हेटौंडा, भरतपुर, सर्लाही, महोत्तरीको बेलखाडी, सिन्धुली र एपिएफको टीम गरी आठवटा टीम सहभागी हुनेछन्। विजेतालाई रु १ लाख, उपरिुजेतालाई रु ५० हजार, उत्कृष्ट खेलाडीहरूलाई जनही रु १५ हजार र खेलका उत्कृष्ट खेलाडीहरूलाई दैनिकरूपमा रु ५ हजार नगद, ट्रफी र मेडल प्रदान गरिने आयोजक कमिटीका अध्यक्ष सुबोधकुमार श्रीवास्तवले जानकारी दिए।
फूटबल खेलमा परवानीपुरलाई अघि बढाउन विभिन्न दाताहरूको सहयोगबाट करीब रु १० लाखको लागतमा प्रतियोगिता हुने उनले बताए। आयोजक कमिटीका अर्का पदाधिकारी अली अख्तरले परवानीपुरमा गोल्डकप हुनु खुशीको कुरा भएको र यसले फूटबलका खेलाडीहरू उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। करीब रु डेढ लाख खर्च गरेर परवानीपुर खेल मैदानमा माटो सम्याउने र घाँस उमार्ने कामलगायत मर्ममसम्भारलाई निरन्तरता दिएको उनले बताए।