प्रस, ठोरी, २९ चैत/
ठोरी गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको विजयबस्ती प्रहरी चौकीले जानकारी दिएको छ।
शनिवार साँझ वीरगंज–ठोरी हुलाकी सडकखण्डमा पर्ने ठोरी–४, गोपीबस्तीमा पैदल हिंडिरहेका सोही ठाउँका चारजना युवालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। साँझ विजयबस्तीबाट जीराभवानी गापा–३, नौकाटोला जाँदै गरेका नौकाटोलाका रामसिंहराय थारू सवार ग.९प ९५८७ नम्बरको मोटरसाइलले ठक्कर दिंदा गोपीबस्तीका अभिषेक गोले, मधु गोले, सञ्जय लामा र आनन्द परियार घाइते भएका थिए।
घाइतेमध्ये अभिषेक र मधुको टाउको र शरीरमा गम्भीर चोट लागेको र वीरगंजस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा १९ वर्षीय अभिषेक गोलेको निधन भएको विजयबस्ती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मीनबहादुर रमौलीले जानकारी दिए। अर्का घाइते मधु लामाको अवस्था गम्भीर छ। अन्य घाइते सञ्जय लामा र आनन्द परियारको खुट्टा र ढाडमा चोट लागेको र उनीहरू खतरामुक्त रहेको प्रहरीको भनाइ छ।
ठक्कर दिने मोटरसाइकलचालक थारूको टाउकोमा चोट लागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर वीरगंजस्थित नारायणी अस्पतालमा उपचार गराइरहेको प्रसनि रमौलीले जानकारी दिए। वीरगंज–ठोरी हुलाकी सडकखण्ड कालोपत्र भएपछि दुर्घटना बढेको छ। धेरैजसो दुर्घटना मादक पदार्थ सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा हुने गरेको छ।