राधेश्याम पटेल, परवानीपुर, २९ चैत/
वीरगंज–पथलैया औद्योगिक कोरिडोरका मैदा तथा पीठो उत्पादन गर्ने उद्योगीहरूले अहिले नयाँ गहुँ किन्न छाडेका छन्। गहुँको मूल्य किलोमा ५ रुपियाँ बढेपछि उद्योगी–व्यवसायीहरूले गहुँको मूल्य स्थिर नभएरसम्म खरीद गर्न हिच्किचाएका छन्।
उनीहरूले नयाँ गहँुमा चिस्यान बढी हुने र कुहिने सम्भावना बढी हुने भएकोले भण्डारण गर्न समस्या हुने, अर्कोतर्फ मूल्य पनि दिन प्रतिदिन बढिरहेकोले खरीद गर्न हिच्किचाएका हुन्। वीरगंज कोरिडोरका एक व्यवसायीका अनुसार वैशाख दोस्रो सातादेखि सबै गहुँ भिœयाएर किसानले दुर्ई साता राखेपछि वास्तविक वजन पनि आउने र कुहिने सम्भावना कम हुने भएकोले त्यति बेला खरीद गर्न सकिन्छ। साथै, उद्योगी–व्यवसायीहरू वैशाख दोस्रो सातादेखि गहुँको माग नभएपछि केही मूल्य घटेपछि खरीद गर्ने दाउमा छन्। एक साताअघि गहुँको मूल्य किलोको २५ रुपियाँ थियो भने अहिले बढेर ३० रुपियाँ पुगेको छ। वीरगंजमा करीब ८ वटा मैदा र पीठो उत्पादन गर्ने उद्योग छन्। केहीले फाटफुटरूपमा गहुँ खरीद गरे पनि आधा दर्जन उद्योगले गहुँ खरीद नगरी हेर र पर्खको अवस्थामा छन्। वीरगंजमा सुरेश केडिया सञ्चालक रहेको वीरगंज खाद्य उद्योग र जगदम्बा समूहको माँ दुर्गा उद्योगले मात्र महँगो मूल्यमा गहुँ खरीद गरिरहेका छन् भने ओम फ्लोर, चाओसती, व्यवसायी मुकेश अग्रवालको उद्योग, कलैया र हेटौंडाका दुई वटा उद्योगले गहुँ खरीद गर्न बन्द गरेका छन्। अस्वाभाविकरूपमा नयाँ गहुँको मूल्य बढ्दै गयो र किलोमा ३३ रुपियाँ माथि गयो भने पीठोको मूल्य बढाउने सोचमा व्यवसायीहरू छन्।
कोरोना अघि र पछि गहुँ सस्तो भएर पीठोको मूल्य मूअकसहित किलोको ४५ रुपियाँमैं थोकमा बिक्री गर्दै आएकोमा अहिले गहुँको मूल्य बढ्दै ३५ रुपियाँ किलो पुग्यो भने पीठो २–३ रुपियाँले बढ्ने अनुमान छ। कोरोनाकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनतालाई एक रुपियाँ किलोमा गहुँ र दुई रुपियाँमा चामल राहतस्वरूप बाँडेपछि नेपाली उद्योगीले भारतबाट सस्तो मूल्यमा गहुँ आयात गर्दै आएका थिए।
तर अहिले देशमैं गहुँ उत्पादन भएपछि पहिले स्वदेशी गहँु खरीद गरी भण्डारण गर्ने र पछि आवश्यक परेमा भारतबाट गहुँ आयात गर्ने व्यवसायीहरूको लक्ष्य छ। भारतबाट अहिले मूल्य, ढुवानी र भन्सार महसूल जोडेर भारु २० अर्थात् ३२ रुपियाँ प्रतिकिलोमा गहुँ आयात हुने गरेको छ।
नेपाल सरकारले चालू आवको लागि गहुँको मूल्य प्रतिक्विन्टल रु ३ हजार १ सय २५ निर्धारण गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here