प्रस, पोखरिया, २९ चैत/
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य निजामुद्दीन समानीले पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारलाई विकास निर्माणलगायतका गतिविधिबारे ध्यानाकर्षणपत्र बुझाएका छन्।
समानीले प्रदेश सरकारबाट प्राप्त रु ४ करोड ४ लाख नगरपालिकाले औषधिलगायत उपकरणमा खर्च गर्नुपर्ने, प्रसूति सेवाको व्यवस्थापन गर्नुपर्ने, एम्बुलेन्स खरीद र भवन निर्माणजस्ता कामहरू सम्पन्न गर्नुपर्नेबारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए। यसैगरी, नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये प्रावि तहका विद्यालयहरू दुईजना शिक्षकको भरमा सञ्चालन भइरहेकाले विद्यार्थीहरूको अध्ययन सुव्यवस्थित हुन नसकेको भन्दै ध्यानाकर्षण गराइएको थियो। यसैगरी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत आएको रकम फ्रिज हुने अवस्था आएको र सो सम्बन्धमा गरिएका कामहरू पनि आरोपमुक्त नभएको बताए। ध्यानाकर्षणपत्रमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागि नगरपालिकाभित्रका युवाहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा सो नगरी बाहिरी युवाहरूलाई परिचालन गरिएकाले आर्थिक चलखेलको आशङ्का बढेको बताइएको थियो।
ज्ञापनपत्रमा पोखरिया नगरपालिकाभित्र भइरहेका विकास निर्माणका कामहरू समयमा सम्पन्न नभएको पाइएकाले त्यसलाई सम्झौता अनुसार तोकिएको समयमा सम्पन्न गर्न ध्यानाकर्षण गराइएको थियो।
यसैगरी, केही दिनदेखि कोरोनाको कहर पुनः बढ्दै गएको हुँदा नगरपालिकाले क्वारेन्टाइन र आइसोलेशन वार्डको तयारीलगायतका व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ।
ध्यानाकर्षणपत्र बुझाउँदै नेता समानीले मागहरू सम्बोधन नभए आन्दोलनको चेतावनी दिएका थिए। ध्यानाकर्षणपत्र बुझ्दै नगरप्रमुख रौनियारले प्रदेश सरकारबाट विनियोजित रु ४ करोड ४ लाख रकममध्ये ९० प्रतिशत काम पूरा भएको र १० प्रतिशत पूरा हुने क्रममा रहेको बताए। उनले नयाँ मागहरू सम्बोधन गर्ने कुरामा नगरपालिकाको बैठक अविलम्ब बसेर सो कार्य गर्ने आश्वासन दिए। उनले नगरपालिकाले गर्नुपर्ने कामको दायित्वलाई यसैगरी बेलाबखत ध्यानाकर्षण गराएको खण्डमा जागरूकता पैदा हुने बताए।
कार्यक्रममा जसपाका नेताहरू बद्रीप्रसाद चौरसिया, राजनारायण कुर्मी, खलील मियाँ, खुर्सेद आलम, किशोरी ठाकुर, सुनील यादव, जयनारायण यादवलगायतको सहभागिता थियो।