वनजङ्गल किन असुरक्षित छ ?

  • राजेश मिश्र

‘हरियो वन नेपालको धन’ यस कथनको सान्दर्भिकता अहिलेको परिवेशमा घोर आपत्तिजनक छ। विभिन्न आवरणका तस्करहरूको कारण वनजङ्गल खतरामा छ। मौजुदा कानून र कैयौं तहका सुरक्षा घेराभित्र ‘हरियो वन तस्करहरूको धन’ हुनु अति विडम्बनापूर्ण भन्नुपर्छ। तीन दशकअघि बाल्यकालमा गाउँमा हेरेको एक हिन्दी नाटकको कथा यसै प्रसङ्गसँग मिल्दोजुल्दो छ। त्यसैले उक्त नाकटको कथा यहाँ उल्लेख गर्नु अति सान्दर्भिक हुनेछ।
उहिले देहातमा मनोरञ्जनको लागि नाटक खेल्ने प्रचलन थियो। नाटकबाट मनोरञ्जनको अलावा सामाजिक परिवर्तन, विकृति उपर प्रहार र युवाहरूमा व्यक्तित्व विकास अभिवृद्धि हुन्थ्यो। मैले मेरो गाउँमा हेरेको उक्त हिन्दी नाटकको नाम त ठ्याक्कै याद भएन। यद्यपि प्रसङ्गवश उक्त नाटकको दृश्य स्मरण भयो। मस्तिष्कमा घुम्न थाल्यो। यस आलेखको अन्तर्वस्तु अगाडि बढाउनुभन्दा पहिले उक्त हिन्दी नाटकको प्रसङ्ग प्रस्तुत छ।
एक दृश्यपछि नृत्याङ्गनाले नृत्य प्रस्तुत गरेर गइन्। पर्दा उठ्यो। अघिल्लो दृश्य दर्शकमाझ प्रस्तुत भयो।
दृश्य ः १
वनमन्त्री सिंहासनमा विराजमान थिए। टेबलमाथि फूलका गुच्छा, गिलास र मगमा पानी राखिएको थियो। बर्दीधारी प्रहरी र वन अधिकारी भद्र आसनमा एकातर्फको कुर्सीमा आसीन थिए। मन्त्रीका लठैतहरू वरिपरि तैनात थिए। मन्त्रीले जुँगा मुसार्दै आदेश दिए, “मेरो घर निर्माण भइरहेको छ। जङ्गलबाट काठ पठाइदिनु होला।” उपस्थित अधिकारीहरू मन्त्रीकै कृपाले पदोन्नति हासिल गरेकाले दुवैजनाले शिर हल्लाएर सहमति जनाए। धेरैबेरको कुराकानीपश्चात् मन्त्रीको चरणस्पर्श गरेर उनीहरू आआफ्नो गन्तव्यतर्फ प्रस्थान गरे। पर्दा खस्यो।


दृश्य ः २
पर्दा उठ्यो। मदिराको गिलास एकअर्कासँग टकराउँदै चेयर्सको शब्दध्वनि गुञ्जित भयोे। मदिरापान र कुराकानी भइरहेको थियो। प्रहरी अधिकारीले भने, “दश लाखमा हुँदैन।” मन्त्रीको घरमा भद्र देखिने ती अधिकारी अहिले रवाफमा थिए। दलाल पक्षबाट आवाज आयो, “मलाई पनि त फाइदा हुनुप–यो नि साहेब। ओसारपसार गर्न धेरै खर्च लाग्छ, बरु २ लाख थपिदिन्छु, तर एक गाडी काठ अझै थप दिनुहोला साहेब।” प्रहरी अधिकारीको उत्तर आयोे, “मैले पनि एक्लै खाने होइन। सबैको भाग पु–याउनुपर्दछ,” उनले भन्ने क्रम जारी थियोे, “ठीक छ, पाँच लाख थप गरिदेऊ ल, तिमी पनि खुशी म पनि खुशी।” पर्दा खस्यो।
दृश्य ः ३
पर्दा उठ्यो। वन अधिकारी र अर्को दलालबीच कार्यालयको गोप्य कोठामा कुराकानी भइरहेको थियो, “कम से कम बीस लाख रुपैयाँ दिनुपर्छ। म मेरो मातहतका कर्मचारीलाई चाँजोपाँजो मिलाइदिनु भनेर भनिदिन्छु।” दलालले भन्यो, “हस् हजुर।” वन अधिकारीले भने, “सबै पैसा मैले एक्लै खाने होइन। सबैको भाग पु–याउनुपर्दछ। नत्र सुख छैन।” दलालले भन्यो, “भोलि म मेरो मान्छेसँग आधा पैसा पठाइदिन्छु सर र बाँकी पर्सि।” पर्दा खस्यो।
दृश्य ः ४
एकातर्फ दलालको गिरोह, वन सुरक्षाकर्मी र वन कर्मचारी मदिरापानमा व्यस्त थिए। अर्कोतर्फ ट्याक्टरमा काठ लोड गर्ने काम भइरहेको थियो। एक कमर्चारीले प्रश्न ग–यो, “हाम्रो भाग खोइ ?” दलालतर्फबाट उत्तर नआउँदै वन सुरक्षाकर्मीको तर्फबाट पनि प्रश्न तेर्सियो, “अनि हाम्रो भाग नि ? माथि मात्र दिएर हुन्छ, सबै गर्ने हामी त हो नि।” दलालको तर्फबाट उत्तर आयो, “दिन्छु नि तपाईंहरूलाई पनि। किन आत्तिनुहुन्छ ? बरु एक ट्याक्टर आफ्नोतर्फबाट लोड गर्न दिनुहोला है सर।” वन कर्मचारी र सुरक्षाकर्मीहरूको मिश्रित आवाज आयो। सहमतियुक्त इशारा दिए। पर्दा खस्यो।
दृश्य ः ५
पर्दा उठ्यो। रातिको करीब १ बजिरहेको थियो। सुनसान स्थानमा प्रहरी र दलालबीच भनाभन भइरहेको थियो। दलालले रूखो स्वरमा भनिरहेको थियो, तपाईं आफ्नो हाकिमसँग कुरा गर्नुस्।” प्रहरीले भन्यो, ”यति राति म हाकिम साहेबलाई फोन गर्दिनँ, गाली खानुपर्छ, यदि व्यवहार गर्छौ भने मिलाइदिन्छु नत्रभने चलान गरिदिन्छु।” गर्जनपूर्ण आवाजमा प्रहरीले ट्याक्टर लिएर थानामा हिंड्न आदेश दियो। मदिरामा मातेको दलालले प्रहरी अधिकारीलाई फोन ग–यो, “हेलो साहेब, ल यहाँ थानेदार साहेबलाई भनिदिनुस् हजुर।” फोन लाउडस्पीकरमा थियो। थानेदारले हाकिमको स्वर सुनेपछि फोन झटपट लियो र भन्यो, “जय नेपाल सर।” अर्कोतर्फबाट छोटो उत्तर आयो, “जान देऊ, गडबड न गर, माथिको आदेश छ।” पर्दा खस्यो।
––––––––––––––––––––
नाटकको कथालाई केलाउँदा मन्त्रीले वनबाट काठ पठाइदिने आदेश दिएपछि तल्ला कर्मचारीहरू पनि आआफ्नो स्वार्थमा रुमलिएको प्रतीत हुन्छ। अहिलेको अवस्थामा उपरोक्त कथा मिल्छ कि मिल्दैन विचारणीय छ। सुरक्षाको सवालमा उहिलेको भन्दा अहिले वनजङ्गलको सुरक्षा र हेरचाहसँग सम्बन्धित निकायका विभिन्न तह र तप्का छ। यद्यपि यति विघ्न निकायका बावजूद पनि आज वनजङ्गल असुरक्षित छ। वन्यजन्तु असुरक्षित छन्। अहिले वनजङ्गल आसपासका बस्तीहरू वन्यजन्तुको आक्रमण खेप्न बाध्य छन्। मानवीय र बालीनालीको क्षतिलगायतका दुःखद समाचार सुन्दै आइरहेका हामी पछिल्लो समय डढेलोको खबरले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाइरहेको छ।
वनजङ्गलको विनाशजन्य कार्यमा विभिन्न स्वरूपमा मानवीय संलग्नता दोषी छ। गैरतस्कर नागरिकहरू वायु प्रदूषण र वन्यजन्तुको आक्रमण जस्ता विभिन्न जोखिम सहन बाध्य छन्। वनजङ्गल किन असुरक्षित छ ? वनजङ्गल कुन निकाय अन्तर्गत पर्दछ ? उसको कर्तव्य के हो ? वनजङ्गलको आन्तरिक सुरक्षाको जिम्मेवारी कसको हो ? बाह्य सुरक्षा कसको जिम्मेवारी अन्तर्गत पर्दछ ? तस्कर प्रवृत्तिका मानिस को हो ? वनजङ्गलमा आम प्रवेश निषेधका बावजूद मानवीय प्रवेश कसरी भइरहेको छ ? लगायतका विषयहरू उपर सार्वजनिक विमर्शसँगै आम चासो र चिन्ता नितान्त आवश्यक छ।
‘तस्कर’ को हो ? सामान्यतया वनजङ्गलसँग सम्बन्धित सरकारी निकायबाहेक प्रवेश गर्ने मानिसलाई ‘तस्कर’को रूपमा हेर्ने मनोविज्ञान स्थापित छ। तर प्रश्न उठ्छ– के सरकारी संलग्नताविना वनजङ्गलको विनाश सम्भव छ ? सत्यनिष्ठाको राजनीति, कर्तव्यपरायण राष्ट्रसेवक र असल नागरिकको आवरणमा आफूलाई परिवर्तन नगरेसम्म वनविनाशको क्रमभङ्ग असम्भव छ। विभिन्न आवरणमा तस्कर प्रवृत्ति छताछुल्ल छ। मानवीय जीवन जोखिमयुक्त छ।
उपरोक्त नाटकमा वनजङ्गलको सुरक्षाप्रति सम्बन्धित निकायका हरेक तह दोषी छन् भन्ने सन्देश दिन खोजिएको छ। काठ र साइकल बरामद हुन्छ। तस्कर भाग्छ। वनजङ्गल मास्ने गिरोहलाई ऊर्जा दिने को हो ? माथिल्लो तहकोे स्वार्थ सर्दै तल्लो तहसम्म पुग्छ। सबैले आआफ्नै तरीकाले सरकारी खजानामा हात धुने प्रयास गर्छन्। यस्ता आन्तरिक अपराधहरू हतपती बाहिर आउँदैनन्। एकको कर्तुत अर्कोलाई थाहा भएकोले कोही कसैको विरुद्ध जाँदैन। असल र कर्तव्यनिष्ठ राष्ट्रसेवकहरू विकृत मानसिकताका राष्ट्रसेवकहरूको षड्यन्त्रको शिकार हुन चाहँदैनन्। भ्रष्टाचारीहरूलाई डर हुँदैन भन्ने होइन। यद्यपि भ्रष्टाचार उजागर गर्ने कर्तव्यनिष्ठ राष्ट्रसेवकलाई भ्रष्टाचारीहरूको सञ्जालले सकेसम्म तनाव दिने प्रयत्न गर्दछ। वनजङ्गलको बचाउमा असल राष्ट्रसेवकहरू अघि सर्नुको विकल्प छैन। उनीहरूले देश र नागरिकलाई प्राकृतिक जोखिमबाट जोगाउनको लागि हीरोको भूमिका निभाउन अब ढिलो गर्नुहुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here