प्रस, वीरगंज, २६ चैत/
अखिल नेपाल टे«ड युनियन महासङ्घ प्रदेश २ कमिटीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ज्ञापन बुझाउँदै श्रमिकहरूको ८ बुँदे मागप्रति ध्यानाकर्षण गराएको छ।
अध्यक्ष अर्जुन चिमोरियाले जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापनपत्र बुझाउँदै कोभिड महामारी र अस्थिर राजनीतिका कारण श्रमिकहरूको अवस्था दयनीय बन्दै गएको उल्लेख छ। ज्ञापनपत्रमा प्रचलित श्रम ऐनमा २/२ वर्षमा पारिश्रमिक वृद्धि गर्नुपर्ने व्यवस्था भएअनुरूप २०७७ साउन १ गतेदेखि सम्पूर्ण श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने, प्रतिष्ठान स्थापना गर्दा तोकेको मुख्य काममा मुख्य रोजगारदाताबाट रोजगार सम्झौता गरी नियमित काममा नियमित श्रमिक राख्नुपर्ने, श्रम स्वीकृतिविना बारा, पर्सा औद्योगिक कोरिडोरमा गैरनेपाली श्रमिकलाई काममा लगाउन नहुने, नेपाली श्रमिकले गर्न नसक्ने काममा मात्र श्रम स्वीकृत लिई निश्चित समयका लागि मात्र गैरनेपाली श्रमिकलाई काम लगाउनुपर्ने, गैरकानूनी निष्कासन गरिएका टे«ड युनियन प्रतिनिधि, श्रमिक पुनर्बहाली गरी नेपाली श्रमिकलाई रोजगारको प्रत्याभूति गराउनुपर्ने, सामाजिक सुरक्षा कोषमा श्रमिकहरूलाई सूचीकृत गराइ योगदान र सुविधाको व्यवस्था गर्नुपर्ने, २०७६ साउन १ गतेभन्दा पहिलाको सञ्चयकोष उपदान रकम श्रमिकलाई सहज भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका रोजगारदाता र ऐन कानून कार्यान्वयन नगर्ने प्रतिष्ठानलाई कारबाईको दायरामा ल्याउनुपर्ने, बन्द उद्योगहरू सञ्चालन गरी रोजगारको अवस्था सृजना गर्नुपर्ने र कार्यस्थलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको उचित प्रबन्ध मिलाउनुपर्ने माग उल्लेख छ।
ज्ञापनपत्र बुझाउन अखिल नेपाल टे«ड युनियन महासङ्घ २ नं प्रदेशका सचिव केदार देव, केन्द्रीय सदस्य गजाधर पटेल, पर्सा संयोजक टुनटुन तिवारी, अखिल नेपाल युवा मजदूर सङ्घ प्रदेश २ का इन्चार्ज झगरु यादवलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here