प्रस, परवानीपुर, २६ चैत/
प्रदेश २ मा पुनः कोरोना सङ्क्रमित थपिन थालेका छन्। पछिल्लोपटक १० भन्दा मुनिको सङ्ख्यामा कोरोना सङ्क्रमित थपिंदै आएकामा पछिल्लो २४ घण्टामा प्रदेश २ मा १५ जना सङ्क्रमित थपिएका छन्।
प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेशप्रसाद यादवका अनुसार पर्सा, बारा, मकवानपुर गरी तीन जिल्लामा १५ जना सङ्क्रमित थपिएका छन्।
जारी गरिएको विज्ञप्तिमा ८ जना महिला र ७ जना पुरुष छन्। बाराको महागढीमाई, जीतपुरसिमरा उपमहानगरपालिका, करैयामाई गापा, पर्साको वीरगंज र मकवानपुरका एकजना बासिन्दामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। अब प्रदेश २ मा ३ हजार २८ जना महिला र १४ हजार २ सय ५९ जना पुरुष गरी कुल १७ हजार २ सय ८७ जनामा हालसम्म कोरोना पुष्टि भइसकेको छ।
भारतका दक्षिणी राज्यहरूमा कोरोना महामारी तीव्र गतिमा पुनः फैलिरहेको बेला खुला सिमानाको कारण भारतबाट नेपाल फर्किने वा वीरगंज कोरिडोरका उद्योगमा काम गर्ने कर्मचारी वा भारतीय बजारमा किनमेल गर्न जाने मानिसबाट सङ्क्रमण पुनः प्रदेश २ मा बढ्न सक्ने चिकित्सकहरूको अनुमान छ। त्यसैले स्थानीय सरकारले उच्च सतर्कता अपनाउन र व्यवस्थापन मिलाउन पनि चिकित्सकहरूको जोड छ।