प्रस, परवानीपुर, २६ चैत/
नेपाली काङ्ग्रेसका उपसभापति, पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले पर्सामा शिलान्यास गरेको तिलावे पुलले सधैं जनतालाई रुवाउने र सास्ती दिने पुलको रूपमा पहिचान बनाएको छ।
आधा दशकदेखि उक्त पुलको निर्माण कार्य भइरहेको छ। तर सोचेअनुरूप प्रगति नहँुदा हजारौं जनता पुलको बाटो भएर आउँदा–जाँदा सास्ती खेप्नुपरेको छ। पोखरियाका रामएकबाल साहका अनुसार वीरगंज आउने–जाने क्रममा पुल क्षेत्रको करीब एक किलोमिटरको डाइभर्सनको बाटो पार गर्दा मन भित्रैबाट कुँडिन्छ। अहिले गर्मीको मौसममा डाइभर्सनको बाटोभरि पुलका ठेकेदारले पानी छर्ने नियम हुँदा पनि पानी छर्ने गरेको छैन। जसको कारण खाल्डाखुल्डी र धुलाम्मे यात्रा गर्न यात्रुहरू बाध्य छन्। पुल निर्माणकर्ता ठेकेदार कम्पनी पप्पु/लुम्बिनी जेभीले उक्त ठेक्का लिएको हो।
७ करोड रुपैयाँको लागतमा सडक विभागले पुल निर्माण कार्य दिए पनि सोचेअनुरूप काम अघि बढेको छैन। डाइभर्सनमा ठाउँ–ठाउँमा खाल्डाखुुल्डी र धूलो यति भएको छ कि साइकल, मोटरसाइकल र अन्य सवारीसाधनको दुर्घटना हुने जोखिम पनि बढेको छ। यस विषयमा ठेकेदार कम्पनीका प्रतिनिधि सुमित रौनियारसँग बुझ्दा उनले आगामी असारसम्म पुलको काम सम्पन्न हुने अन्तिम म्याद रहेकोले सो अवधिसम्म पुलको काम पूरा गर्ने आश्वासन दिए। उनले डाइभर्सन निर्माणको लागि २६ लाख रुपैयाँ सडक विभागसँग माग गरिएकोमा विभागले बजेट दिन रोक लगाएकोले डाइभर्सनको काम राम्रोसँग गर्न नसकेकोले अहिलेको समस्या उब्जेको उनको भनाइ छ।
सो डाइभर्सनमा तिलावे खोलाको पानी बगाउन राखिएको दुईवटा ह्युम पाइप पनि भारी मालवाहक सवारीसाधन गुड्दा भाँचिएको र जुन बेला पनि पाइप फुटेर बाटो अवरुद्ध हुने अवस्था सृजना हँुदै गएको यात्रुहरूले बताए।