प्रस, पोखरिया, २५ चैत/
नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने तीनजना भारतीयसहित दशजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
पर्सा जिल्लाका आयल स्टोरहरूको मिलेमतोमा तस्करहरूले पेट्रोलियम पदार्थ भारततर्फ तस्करी गर्ने गरेको
सूचनाको आधारमा प्रहरीले विभिन्न मितिमा आयल स्टोरहरूमा छापामारी गरी दशजनालाई पक्राउ गरेको हो।
चैत १७ गते इलाका प्रहरी कार्यालय पोखरियाले धोबिनी गाउँपालिका–५ लङ्गडीस्थित इस्लाम आयल
स्टोरबाट भारततर्फ तस्करी गर्न लागेको ८० लिटर डिजल नियन्त्रणमा लिएको थियो।
त्यस्तै, चैत २० गते इप्रका पोखरियाले जगरनाथपुर गापा–२ जानकीटोलाबाट १६० लिटर डिजल तस्करी गर्ने क्रममा नियन्त्रणमा लिएको थियो भने तस्कर भारततर्फ फरार भएको प्रहरीले जनाएको छ। उक्त डिजेल बिस्मिल्लाह आयल स्टोरको मिलेमतोमा तस्करी भएको इप्रका पोखरियाले जनाएको छ।
चैत २४ गते पर्साको जगरनाथपुर गापा–२ स्थित बिसमिल्लाह आयल स्टोरबाट भारतीय नम्बरका पाँचवटा मोटरसाइकल र एउटा नेपाली नम्बरको मोटरसाइकलमा डिजेल लोड गरिरहेको अवस्थामा सातजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।त्यस्तै, चैत २४ गते वीरगंज महानगर–१९ बर्वास्थित तिवारी आयल स्टोरबाट पेट्रोलियम पदार्थ तस्करी गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले तीनवटा साइकलमा लोड गरेको २८० लिटर डिजेल र २० लिटर पेट्रोल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा भारत, मोतीहारी, पूर्वी चम्पारण, भेलाही–१४ निवासी मनोज गुप्ता, इद्रिश मियाँ, प्रिन्स साह, जगरनाथपुर गापा–२ निवासी सागिर आलम, रविकुमार साह, मुनी साह तेली, जालीम गद्दी, राजकुमार कुर्मी, आसमहम्मद राउत गद्दीलाई पक्राउ गरी तेल तस्करीसम्बन्धी कसूरमा कारबाईको लागि मङ्गलवार वीरगंज भन्सारमा बुझाएको प्रहरीले जनाएको छ।
पर्साका सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको अवैध तस्करीमा संलग्न इस्लाम आयल स्टोर, बिसमिल्लाह आयल स्टोर र तिवारी आयल स्टोरलाई कारबाई गर्न नेपाल आयल निगम २ नं प्रादेशिक कार्यालय अमलेखगंजमा जानकारी गराएको जिप्रका पर्साले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here