राधेश्याम पटेल, परवानीपुर, २५ चैत/
प्रदेश २ को पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायमा अस्वाभाविकरूपले लगानी बढेको छ।
पछिल्लो दुई/तीन वर्षमा कम्तीमा रु १० अर्बको लगानी थपिएको छ। वीरगंजमा रु डेढ अर्बको लगानीमा लड्र्स दियालो, गण्डकमा रु १ अर्बको लगानीमा क्लार्क रिसोर्ट, सिमरा र पथलैया क्षेत्रमा थुप्रै होटल निर्माणाधीन छन्। अमलेखगंजमा जर्घा होटल तथा १० करोड रुपैयाँको लगानीमा जङ्गल भ्यु होटल हेटौंडाका व्यवसायीले खोल्दैछन् भने सूर्य नेपालअगाडि श्रेष्ठ रेजिडेन्सी, शम्भु ठकुरीले करीब रु १२ करोडको लगानीमा तीनतारे होटल सिमरामा निर्माण गरिरहेका छन्। उक्त होटलमा करीब ३५ वटा कोठा छन्। तनहुँका नेकपा एमालेका सांसद कृष्ण श्रेष्ठ किसानले रु २० करोडको लगानीमा सिमरा विमानस्थलनजीकै सिमरा होटल सञ्चालन गरेका छन् भने सिमराको औराहामा क्लासिक, ब्रदरहुड कटेज, भेटघाट पार्टी प्यालेस, भेन्टे कटेजमा लगानी गरिएको छ। त्यसैगरी, इच्छा होटलले पनि अमलेखगंजको हात्तीसारनजीकै इच्छाको अर्को चेन होटलको रूपमा ३५ कोठा क्षमताको होटल स्थापना गर्दैछ। अमलेखगंजमा एलिफेन्ट भिजेल रिसोर्ट, कामिनी रिसोर्ट, पाराडाइज कटेज, कल्पवृक्ष, जर्घा, क्विक होटललगायत सञ्चालन भइरहेका छन्।
बर्दिबासमा रु ३५ करोडको लगानीमा सुधीर अग्रवालले नव्या होटल सञ्चालनमा ल्याएका छन् भने निजगढमा तराई इन, रुद्राक्ष, हाइवे गरी २० वटा होटल छन्। बर्दिबासमा गौतमलगायत अन्य ठूलठूला सुविधासम्पन्न होटल सञ्चालनमा आइसकेकाले आगामी दिनमा प्रदेश २ को होटल व्यवसाय क्षेत्रमा मुख्य हब बर्दिबास, सिमरा र पथलैया हुने अनुमान छ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुर बनेपछि काठमाडौं हुँदै बर्दिबास भई जनकपुर जाने र जनकपुर गएपछि फर्केर राजमार्गमा बास बस्ने तथा आठ जिल्लाको मध्यबिन्दुमा कुनै कार्यक्रम, सभा गर्नुपरे प्रायःजसो बर्दिबासका होटलहरूमा कार्यक्रम आयोजना हुने भएकोले लगानीकर्ताहरूले सो ठाउँमा लगानी गर्दैछन्।
त्यसैगरी, औद्योगिक प्रयोजन र सरकारी कामले गर्दा आउने आन्तरिक पर्यटक र भारतीय पर्यटकहरूलाई सिमरा, पथलैयामा विमानस्थलले गर्दा बास बस्न सजिलो हुने गरेको छ। वीरगंजभन्दा सफा र स्वच्छ वातावरण सिमरा र पथलैयामा पाउने विश्वासका साथ उनीहरूले कार्यक्रम गर्ने र बास बस्ने गर्छन्।
प्रदेश २ को एकमात्र निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्य, चुरे क्षेत्रमा झरना, हलखोरिया दह, हात्तीसार, रामभौरीभाठा, ठोरी, मोहरी पार्क, चमरीहोल, वन्यजन्तु अवलोकनलगायतले गर्दा पनि अधिकांश पर्यटक सिमरा–पथलैयामा बस्न रुचाउँछन्।
होटल तथा पर्यटन व्यवसायी सङ्घ, बाराका अध्यक्ष मोहन शर्माका अनुसार कोभिडले गर्दा थला परेको होटल व्यवसायमा भारतीय पर्यटकको आगमन नभएसम्म प्रदेश २ का आठ जिल्लाका होटल व्यवसायमा चमक नआउने उनको भनाइ छ।