प्रस, सप्तरी, २४ चैत/
सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं ४ बेल्हीमा बोर्डर आउट पोस्ट (बिओपी) थप गरिएको छ। प्रदेश नं २ छिन्नमस्ता वाहिनी बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले पोस्टको उद्घाटन गरेका थिए।
सो अवसरमा प्रहरी नायब महानिरीक्षक गौतमले समग्र बलान बिहुल गाउँपालिकाको शान्ति सुरक्षा व्यवस्था थप मजबूत बनाउने बिओपी स्थापनाले टेवा पुग्ने भन्दै तस्करी नियन्त्रण गरी राजस्व वृद्धि हुने विश्वास व्यक्त गरेका थिए। घरायसी व्यवहारका सामग्रीहरूमा सर्वसाधारण उपभोक्तालाई दुःख नदिन निर्देशन दिंदै उनले नयाँ बिओपी स्थापनाले सो क्षेत्रमा आपत्विपत्को बेलामा समेत उद्धारका निम्ति सहयोग पुग्ने बताए।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइत, उपाध्यक्ष रुवि गुप्तालगायतको सहभागिता थियो। सप्तरीको भारतसँग जोडिएको ७८ किलोमिटर बोर्डर इलाकामा यसअघि सातवटा बिओपी स्थापना भइसकेको छ भने नयाँ बिओपी आठौं हो। जिल्लाको सीमा क्षेत्रमा बिओपी सङ्ख्या १९ पु–याउने लक्ष्य रहेको प्रजिअ पोखरेलले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here