प्रस, सिम्रौनगढ, २१ चैत/
प्रसिद्ध ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल सिम्रौनगढ नगरपालिका– २ अमृतगंजस्थित रामजानकी मन्दिर रानीवासको जीर्णोद्धार गर्ने क्रममा २३९ वर्ष पुरानो इँटा फेला परेको छ। भवनको अगाडिको भाग जीर्णोद्धार गर्ने क्रममा विक्रम संवत् १८३८ र १९३५ को इँटा फेला परेको हो।
फेला परेका इँटा पुरानो जमानाको बाक्सी इँटा रहेको र उक्त इँटाहरूमा ज्ञडघड द्यप्ए र ज्ञढघछ लेखिएको सिम्रौनगढ नगरपालिका कार्यपालिका सदस्य परमानन्द मुखियाले जानकारी दिएका छन्।विसं १९३५ मा रामजानकी रानीवास मन्दिर बनेको विश्वास छ, शिलालेखमा पनि सोही कुरा लेखिएको छ। तर भवन जीर्णोद्धार गर्ने क्रममा हाल फेला परेका इँटामध्ये १९३५ उल्लेख भएको केही फेला परेको छ भने १८३८ लेखिएको इँटा पनि फेला परेको छ।
यसरी पुरानो इँटाले विसं १९३५ भन्दा पहिले नै त्यहाँ मन्दिर थियो र उक्त मन्दिर जीर्ण बनेपछि १९३५ मा सोही स्थानमा पुनः मन्दिर निर्माण गरिएको हुन सक्ने तर्कवितर्क चल्न थालेको छ। यसबारे खोज–अनुसन्धान हुनुपर्ने सिम्रौनगढवासीको माग छ। हाल पुरातत्व विभाग काठमाडौंले उक्त भवनको जीर्णोद्धार गरिरहेको छ।