बलिराम शुक्ला, बिरुवागुठी, २१ चैत/
पर्सागढी नगरपालिका–३ बडनिहारस्थित खेल मैदानमा आजदेखि एन्फा ग्रास रूट प्रशिक्षण शुरू भएको छ।
पर्सा जिल्ला फूटबल सङ्घ र आमोदेवी युवा स्पोर्ट्स क्लब बडनिहारको सहयोगमा सञ्चालित प्रशिक्षणमा ६ वर्षभन्दा माथि र १४ वर्षभन्दा मुनिका बालबालिका सहभागी छन्।
पर्सा जिल्ला फूटबल सङ्घका अध्यक्ष दिवाकरकृष्ण मानन्धरले आमोदेवी युवा स्पोर्ट्स क्लबका अध्यक्ष शम्भुदास थारूलाई खेलकूद सामग्री हस्तान्तरण गरेर प्रशिक्षणको शुभारम्भ गरेका थिए।सो अवसरमा पर्सा फूटबल सङ्घका अध्यक्ष मानन्धरले वीरगंज महानगरपालिकाबाट प्रशिक्षण शुरू भएको बताए। उनले जिल्लाको पाँच स्थानमा प्रशिक्षण दिने योजना रहेको र पर्सागढीमा आज गरिएको तथा क्रमशः अपौनी, निचुटा र सुपौलीमा एन्फा ग्रास रूट प्रशिक्षण शुरू गरिने बताए। उनले प्रशिक्षण अबको एक वर्षसम्म प्रत्येक साता शनिवार हुने र सोबाट बालबालिकाहरूको छनोट गरिने जानकारी गराए।
पहिलो दिनको प्रशिक्षण कार्यक्रममा अखिल नेपाल फूटबल सङ्घका केन्द्रीय सदस्य दीपक साह, एमालेका पालिका कमिटी अध्यक्ष गोकर्ण पाठक, पर्सा जिल्ला फूटबल सङ्घका प्रशिक्षक ग्रीष्म शाक्य, पूर्व फूटबल खेलाडी सन्दिप तामाङ, राजकुमार गुरुङ, वीरबहादुर पाख्रिनलगायत सहभागी थिए।
पहिलो शनिवार आज ६० जना बालबालिका प्रशिक्षणमा सहभागी रहेको बताइएको छ।