प्रस, वीरगंज, २१ चैत/
वीरगंज उद्योग वाणिज्य सङ्घको नयाँ कार्य समितिको प्रथम कार्य समिति बैठकले सङ्घको रोजगारदाता परिषद्को संयोजकमा माधव राजपाललाई मनोनयन गरेको छ।
सङ्घको विधान अनुसार रोजगारदाता परिषद्को संयोजक कार्य समितिमा तृतीय उपाध्यक्ष मनोनयन गर्ने प्रावधान अनुसार राजपाललाई सङ्घका अध्यक्ष गुप्ताले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। कार्यक्रममा स्वागत गर्दै अध्यक्ष गुप्ताले वीरगंज उद्योग वाणिज्य सङ्घले विगतका वर्षहरूदेखि नै उठाउँदै आएको उद्योग, व्यापार र पारवहनलगायत क्षेत्रको सन्तुलित विकासलाई अझ प्रमुखताका साथ उठाउने उद्घोष गरे। उनले अन्योलपूर्ण परिस्थितिमा निजी क्षेत्रको भूमिका र अपेक्षालाई नेपाल सरकारसँग सहकार्य गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका बाटो पहिल्याउन प्रभावकारी भूमिका खेल्ने आश्वासन दिए।
कार्यक्रममा प्रथम उपाध्यक्ष अनिल पटवारी, द्वितीय उपाध्यक्ष हरि गौतम, कोषाध्यक्ष गोविन्द साह, वीरगंज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, नवनिर्वाचित पदाधिकारी लगायत सङ्घका कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।