प्रस, वीरगंज, १८ चैत/
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले सङ्गठितरूपमा किर्ते तथा ठगीसम्बन्धी कसूर मुद्दामा मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख सुमनकुमार झा र कम्प्युटर अपरेटर श्रीनारायण प्रसादलाई धरौटीमा रिहा गर्ने आदेश दिए पनि धरौटी बुझाउन नसक्दा दुवैजना वीरगंज कारागारमैं छन्।
उच्च अदालतले फागुन १३ गते मालपोत कार्यालयका कर्मचारीद्वयको हकमा प्रमुख झासँग रु १ करोड र कम्प्युटर अपरेटर श्रीनारायणसँग रु ५० लाख धरौटी माग गरेको थियो। दुवैजनाले धरौटीबापतको जमानत दिन नसक्दा कारागारमा बस्नुपरेको हो। वीरगंज–५ मुख्य सडकस्थित स्व कमला राजभण्डारीको करोडौं मूल्यको जग्गा किर्ते गरी फर्जी व्यक्तिको नाममा नामसारी गरेको घटनामा जिल्ला प्रहरी कार्यालय, पर्साले १४ जनाविरुद्ध अभियोगपत्र दर्ता गराएको थियो। सो सम्बन्धमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो। यो मुद्दामा शुरूमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले घटनाका योजनाकार गिरधारीलाल अग्रवाललाई मुद्दा नचलाउने गरी सफाइ दिएको थियो।यसैगरी, पर्सा जिल्ला अदालतले पक्राउ परेकामध्ये अमरकुमार गुप्तालाई रु १ लाख धरौटीमा रिहाको आदेश गरेको थियो भने अन्यलाई पुर्पक्षको लागि कारागार चलान गर्ने निर्णय गरेको थियो। जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालतले लेखनदास अमरकुमार गुप्तालाई धरौटीमा छोड्ने जिल्ला अदालतको निर्णय उल्टाएको छ र पुर्पक्षको लागि थुनामा राख्न निर्णय गरेको छ। जिल्ला अदालतले यही घटनामा पक्राउ परेका प्रमेश प्रसादलाई थुनामा राखेर कारबाई गर्ने निर्णय सदर गरेको छ। मालपोत कार्यालय, पर्साका प्रमुख झा र कम्प्युटर अपरेटर श्रीनारायण सरकारी कर्मचारी भएकाले उनीहरू फरार हुने सम्भावना कम भएको भन्दै उच्च अदालतले धरौटी माग गरेको थियो। तर धरौटी बुझाउन नसक्दा उनीहरू अहिले वीरगंज कारागारमैं छन्।
यो घटनाका मुख्य रचनाकार मुकेश राजभण्डारी भन्ने केवलप्रताप जबरा पनि पुर्पक्षको लागि कारागारमैं छन्। उनले यो मुद्दामा पुनरावेदन गरेका छैनन्। स्व कमला राजभण्डारीका छोरा राजीव राजभण्डारीले पर्सा जिल्ला अदालतमा सङ्गठित रूपमा किर्ते तथा ठगीसम्बन्धी कसूरमा मुद्दा दायर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here