प्रस, ठोरी, १८ चैत/
वीरगंज–ठोरी हुलाकी राजमार्ग अन्तर्गतको चमरीदेखि चौतारासम्मको ३० किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का सकारेको निर्माण कम्पनी कालिका–बानियाँ जेभीको बुधवारबाट समय सकिएको छ। २०७४ कात्तिक १४ गते ठेक्का सकारेको सो निर्माण कम्पनीको ३९ महीनापछि समय सकिएको हो।
३० किलोमिटर सडक निर्माणको ठेक्का सकारेको सो कम्पनीले झन्डै ५ किलोमिटरको सडक निर्माण पूरा गर्न बाँकी नै रहेको अवस्थामा इन्डियन कन्सल्टेन्सीले आजै हुलाकी राजमार्गलाई हस्तान्तरणसमेत गरेको छ।
इन्डियन कन्सल्टेन्सीका इन्जिनीयर नूर आलम र हुलाकी राजमार्गका प्रतिनिधि रामनाथ चौधरीले संयुक्तरूपमा रिबन काटेर राजमार्गको उद्घाटन गर्दै नेपाली जनतालाई हस्तान्तरण गरेका थिए।नेपाल सरकारबाट इजाजत पाएको ठाउँसम्म निर्माण कम्पनीले काम पूरा गरेको बताउँदै चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण बाँकी काम पूरा हुन नपाएको इन्डियन कन्सल्टेन्सीका इन्जिनीयर आलमले बताए। उनले तत्काल निकुञ्जसँग समन्वय गरी सहज वातावरण बनेमा अधूरो काम पूरा गर्न तयार रहेकोले निकास निकाल्नसमेत सरोकारवालाको ध्यानाकर्षण गरे।
हुलाकी राजमार्गका प्रतिनिधि चौधरीले पनि चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण काम पूरा गर्न नसकिएको जानकारी दिए। हुलाकी राजमार्गमा घरजग्गा परेकाहरूको लागि एक महीनाभित्रै मुआवजा वितरण थाल्नेसमेत उनले जानकारी दिए। निर्माण कम्पनीको तत्काल धरौटी फिर्ता नहुने भएकोले वातावरण निर्माण भए हालकै निर्माण कम्पनीलाई काम पूरा गर्न लगाइने पनि चौधरीले बताए।
निर्माण कम्पनीले सबै काम पूरा गरी कालोपत्रे गर्ने तयारी गरिरहेकै बेला चितवन राष्ट्रिय निकुञ्जले काम रोक्न परिपत्र गरेकोले निर्माण कम्पनीले ९५ प्रतिशत काम पूरा गरेर बिदा लिएको हो।
निकुञ्जको अवरोधका कारण काम पूरा गर्न नसकिएकोले यदि वातावरण सहज बनेको खण्डमा आफ्नो निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिए पुनः आएर काम पूरा गर्ने निर्माण कम्पनीका प्रतिनिधि उद्धव न्यौपानेले बताए।
ठोरीको ठुटेखोलामा कुलो विवाद रहेकाले उक्त स्थानमा, रामनगरका दुई ठाउँमा र निर्मलबस्तीमा कालोपत्रे गरिएको छैन भने रूखलाई मूल सडकको बीचबाट नहटाइ रूखलाई बीचमैं पारेर कालोपत्रेसमेत गरिएको छ।
चलनचल्तीकै बाटो निर्माणमा चितवन राष्ट्रिय निकुञ्जले अवरोध पु–याएकोले ठोरीको विकासमा बाधक बनेको भन्दै स्थानीयहरूको आक्रोश बढ्दो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here