नितेश कर्ण, वीरगंज, १४ चैत/
भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपाल सरकारले सीमा क्षेत्रमा निगरानी बढाए पनि पर्सा जिल्लामा सरकारको निर्णय अनुसारको कामकारबाई हुन सकेको छैन।
देशकै प्रमुख नाका वीरगंजमा भारतबाट आउने यात्रुहरूको परीक्षण प्रभावकारी देखिएको छैन।
शङ्कराचार्यद्वारमा कोरोना परीक्षणका लागि थर्मल गन र विवरण सङ्कलन कार्य शुरू छ। तर खुला सीमाको कारण यो मार्ग भएर प्रवेश गर्ने सबैलाई थर्मल गनको प्रयोग गरेर ज्वरो नाप्ने र विवरण सङ्कलन गर्ने कार्य हुन सकेको छैन।
भारतबाट नेपाल आउने यात्रुहरूमध्ये शङ्कास्पदलाई मात्र थर्मल गनको प्रयोगबाट ज्वरो नाप्ने र विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ।दैनिकरूपमा हजारौं मानिसको आवतजावत भएपनि भारतबाट आउनेमध्ये शङ्कास्पदको मात्र चेकजाँच भइरहेको छ।
पैदल र विभिन्न सवारीसाधनबाट नेपाल प्रवेश गर्नेहरूमध्ये भारतबाट नेपाल आउनेहरूलाई शङ्काको आधारमा परीक्षण भइरहेको पाइएको छ। बाँकी मानिसको सहज यात्रा यथावत् छ।
जिल्ला सङ्कट व्यवस्थापन समिति पर्साले भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थ्य परीक्षण गरी विवरण सङ्कलन गरेर प्रवेश गर्न दिने निर्णय गरेको छ। तर सोविपरीत पर्सा जिल्लाका मुख्य नाका रक्सौल–वीरगंज र अन्य नाकाहरूमा पनि यस प्रकारका चेकजाँच भइरहेको छैन।