प्रस, निजगढ, १३ चैत/
निजगढ नगर क्षेत्रभित्रको बस्तीहरूबाट दैनिक उसर्जित फोहोरमैलालाई आगो लगाएर नष्ट गरिएपछि अहिले गर्मीयाममा सोबाट निस्किने धूवाँले निजगढवासीको स्वास्थ्यमा समस्या उत्पन्न हुनुका साथै वायु प्रदूषण बढेको छ।
बकैया खोलाको दक्षिणतर्फको बगरमा डम्पिङ गर्दै आइरहेको प्लास्टिकजन्यलगायत अन्य फोहोरमैलालाई निजगढ नपाले एक वर्षअघिदेखि आगो लगाएर नष्ट गर्दै आइरहेको छ। जुन मानव स्वास्थ्य र स्वच्छ वातावरणविपरीत ठहर्छ। अहिलेको सुक्खायाममा वनजङ्गलमा डढेलो लागेर वायु प्रदूषण बढिरहँदा फोहोरमैलामा आगो लगाउँदा झनै वातावरण बिगँ्रदो छ। जसको कारण निजगढलाई २४सैं घण्टा तुवाँलोले ढाके जस्तै धूवाँले निजगढको बकैयाटोल आसपासको स्थान ढाकिरहेको छ। प्रदूषित धूवाँ वायुमा फैलिंदा टाढा–टाढासम्म यसको असर फैलिरहेको छ।राजमार्ग आसपासका घर, बस्तीबाट निस्किएका यस्ता वस्तुलाई निजगढ नगरपालिकाले दैनिक खोलाबगरमा व्यवस्थापन गर्दै आइरहेको छ।
चार वर्षअघि सामुदायिक वनक्षेत्रको खाली स्थानमा फाल्ने गरेपछि बकैया–नागमणि सामुदायिक वन उपभोक्ता समूहले रोकेको थियो। खोलाबगरमा डम्पिङ गरिएका प्लास्टिकजन्य फोहोरमैलालाई आगो लगाउने गरेपछि झनै वायु प्रदूषण बढेको छ भने फोहोरमैलाको डुङ्गुरले बस्तीमा रोग फैलन सक्ने सम्भावना बढेको छ। फोहोरमैलालाई आगो लगाएर डढाउने गर्दा वायु प्रदूषणका कारण श्वास, दम, आँखा पिरो हुने, आँखा दुख्ने, टाउको दुख्ने मात्र नभई प्लास्टिकजन्य वस्तु डढाउँदा मानिसलाई क्यान्सरको रोगसमेत लाग्ने खतरा अधिकतम हुने स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ।
खोलाबगरमा फालिएको फोहोरमैला वर्षासँगै आएको भेलबाढीले
खोलामा मिसिने र बग्ने गरेको छ। फोहोरमैला मिसिएको पानी प्रयोग गर्दा रोगको महामारीसमेत फैलन सक्ने सम्भावना छ।
खोलानाला, बगर, वनक्षेत्रमा फोहोरमैला फालिनु कानूनीरूपमा अपराधसमेत मानिन्छ। वनक्षेत्रमा चरिचरणका लागि छोडिएका गाईवस्तु फालिएका फोहोरमैला, प्लास्टिकजन्य वस्तु खान पल्केका छन्। जसले गर्दा गाईवस्तुसमेत बिरामी पर्ने गरेका छन् भने ज्यानै जाने सम्भावनासमेत रहेको छ।
खोलाबगर, वनक्षेत्रमा फोहोरमैला नफाल्न यसअघिदेखि नै पटक–पटक आग्रह गर्दै आइरहे पनि फोहोरमैला डम्पिङ गर्ने वा नष्ट गर्ने उचित स्थानको छनोट गर्न नसक्दा निजगढ नपालाई समेत समस्या भइरहेको निजगढ नपाले जनाएको छ।
फोहोरमैलाको उचित स्थानमा उचित व्यवस्थापन नगर्ने हो भने कुनै न कुनै बेला विशेषगरी वर्षायाम, अत्यधिक जाडोयाममा रोगको महामारी फैलिन सक्ने सम्भावना अधिक हुन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here