प्रस, ठोरी, १३ चैत/
ठोरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि खाता खोल्न शुरू गरिएको छ।
सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानीका लागि निर्देशन गरेको लामो समयपछि ठोरी गापामा यससम्बन्धी प्रक्रिया अगाडि बढाइएको हो। शुक्रवारदेखि राष्ट्रिय वाणिज्य बैंकमार्फत खाता खोल्न शुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले बताए। राष्ट्रिय वाणिज्य बैंक सुवर्णपुर शाखाले वडा नं ४ घ्याङडाँडाबाट घुम्ती अभियानको शुभारम्भ गरेको छ। ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गहरूलाई वितरण गरिने सामाजिक सुरक्षा भत्ताको लागि वडापालिकामा सम्बन्धित व्यक्तिहरूलाई बोलाएर खाता खोल्न शुरू गरिएको छ। खाता सञ्चालनको लागि पञ्जीकरण शाखाका कर्मचारी र स्वयंसेवकहरू परिचालित गरिएको बताइएको छ।
अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिकहरू बैंकमा पुगेर खाता खोल्न समस्या भएको र यसअघिका प्रयासहरू सोही कारणले असफल भएको कारण घुम्ती सेवामार्फत गापाका सबै वडामा खाता खोलिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए। उनले गापाका पाँचवटा वडाका करीब १९ सयजनाले सामाजिक सुरक्षा भत्ता लिंदै आएको जानकारी गराए।
यसअघि, चालू आवको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता गापाले खाताविना नै वितरण गरेको थियो। वडाध्यक्ष, सदस्यहरूमार्फत सम्बन्धित वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए। ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गहरूको घरमा पुगेर जनप्रतिनिधिहरूले नगद वितरण गरेका थिए। अब दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता बैंक खाता खोलिएपछि सोहीअनुरूप वितरण गरिने श्रेष्ठले बताए। दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता चैत मसान्तभित्र वितरण हुँदै आएको थियो। बैंकिङ खाता सञ्चालनको कारण केही समय ढिला हुने अनुमान गरिएको छ।