जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकताको प्रतिलिपि लिन गएका सेवाग्राहीले २० दिनसम्म पनि प्रतिलिपि नपाएको गुनासो गरेका छन्। पाओस् पनि कसरी, फाँटको झ्यालमा यतिधेरै भीड हुन्छ कि झ्यालसम्म पुग्नु पनि ठूलै युद्ध जित्नु सरह हो। बल्लतल्ल झ्यालमा पुगेकाहरूको कुरा फाँटवालाले सुन्दैनन्। फाँटवालाभन्दा पनि उनलाई सहयोग पु–याउने कार्यालय सहयोगीको भूमिका मुख्य हुन्छ। उसले फाइल अनुसार स्रेस्ता भिडाएर ठीक्क पारिदियो भने फाँटमा काम हुने हो। फाँटका चारै तर्फका झ्यालबाट निवेदकहरूले कर्मचारीको नाम बोलाइरहेका हुन्छन्, अनुरोध गरिरहेका हुन्छन् “लौन मेरो बनाइदिनुस् न।” काम भएन भन्दै बिलौना गर्ने र धम्की दिनेहरू पनि उत्तिकै हुन्छन्। कसको कुरा सुन्ने, सुनेर साध्य नै छैन। हरेक दिन जिप्रका नागरिकता फाँटको दिनचर्या यसैगरी बितिरहेको छ। अभ्यस्त कर्मचारीहरू पनि किन टाउको दुखाउने ? आफ्नो नजर तथा विवेकले जसको फाइलमा मन लाग्छ उसैको काम गरिदिने हो।
यसरी फाँटमा झुम्मिने भीडमा दिनहँु केही नयाँ मानिस थपिए पनि अधिकांश भने पुरानै हुन्छन्। कतिपय त हप्तौंसम्म काम नबनेपछि केही दिन घरमा विश्राम गरेर फेरि शक्ति सञ्चय गरी आएका पनि हुन्छन्। सक्नेहरू झ्यालसम्म गएर उभिन्छन्, कराएर चित्त बुझाउँछन्। नसक्ने वृद्ध, वृद्धा, अशक्त, असहाय र प्रक्रियाबारे अनभिज्ञहरूको भने उपाय छैन। कुनै दयालु कर्मचारीको नजरमा उनीहरू परेछ भने काम हुने हो, नत्र जहाँको तहीं। सेवाग्राही झ्यालमा खडा छ, उसको फाइल फाँटभित्र भुइँमा खसेर अरसल्ल परिरहेको हुन्छ तर उठाएर फाँट प्रमुखको टेबलसम्म पु–याइदिने कोही हुँदैन। महीना दिनसम्म काम नभएर भौंतारिरहेका सेवाग्राही कार्यालय परिसरमा पाइन्छन्। सोविपरीत जुन दिन आयो, त्यही दिन काम भएर फर्किरहेका सेवाग्राही पनि प्रशस्तै भेट्न सकिन्छ। फाँटमा काम नै नभएको कहाँ हो ? निवेदनको क्रम अनुसार र व्यवस्थित एवं एकरूपता र सहज किसिमले काम नभएको मात्रै हो। जिल्ला प्रशासनको नयाँ नागरिकता फाँट, राहदानी शाखा सबैतिर भीडभाड उस्तै छ, तर प्रतिलिपि फाँटमा जस्तो सेवाग्राहीको बिजोग अन्यत्र छैन।
प्रतिलिपि फाँटको सेवालाई सहज र सुव्यवस्थित बनाउनका लागि प्रयास नभएको होइन। प्रहरी परिचालन गरेर लाइन लगाउने, प्रशासकीय अधिकृत एवं प्रमुख जिल्ला अधिकारी नै गएर फाँटमा निगरानी गर्ने, काम हुनेवाला सेवाग्राहीको नाम सूची प्रकाशन गर्नेलगायतका प्रयासहरू भएका छन्। तर त्यसको कुनै असर परेन। कुनै पनि समस्या समाधान हुन नसक्ने भन्ने हुँदैन। विगतमा सबैभन्दा सजिलो र छिटो काम हुने फाँटको रूपमा प्रतिलिपि फाँटको पहिचान थियो। त्यति बेलाका प्रयासहरूलाई अध्ययन गर्र्न जरुरी छ। नयाँ विकल्पमा जाने हो भने टोकन प्रणाली अपनाउनुपर्छ । फाँटमा निवेदनमाथि हुने प्रक्रिया अनुसार काउन्टरहरू फरक–फरक राख्नुपर्छ। निवेदनमा आवश्यक कागजात पूरा भए नभएको हेरेर टोकन दिने र हरेक दिन कति काम हुन सक्छ, सो अनुसार पालो तोक्नुुपर्छ। कार्यालयको रेकर्ड भिडाउँदा प्रमाण पुगे तोकिएको दिन प्रतिलिपि दिने नपुगे सर्जमिन पठाउने गरियो भने अनावश्यक भीड हुँदैन। यसो गर्दा पालो र प्रमाण पुगेकालाई दुःख दिने र पालो प्रमाण नपुगेकाको काम गराउने प्रयास कुनै कर्मचारीबाट हुन थाल्यो भने कार्यालय प्रमुखले कारबाई गर्न हात कमाउनुहुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here