प्रस, वीरगंज, १२ चैत/
जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता र प्रतिलिपि लिनको लागि लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीहरूले बताएका छन्।
१५–२० दिनसम्म कार्यालयमा धाउँदा पनि नागरिकताको प्रतिलिपि नपाएको सेवाग्राहीहरूले गुनासो गरेका छन्। जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता बनाउन आएकी वीरगंज–२१ निवासी पिङ्कीकुमारी जायसवालले दुई दिनदेखि नागरिकताको लागि धाउनुपरेको तर नागरिकता नबनेको बताइन्।
विन्ध्यवासिनी गाउँपालिकाका शिवमङ्गल साह कानूले पनि दुई/तीन दिनदेखि कार्यालयमा धाएको तर नागरिकता नबनेको बताए। आवश्यक कागजात उपलब्ध गराउँदा पनि आजभोलि भनेर नागरिकता नपाएको बताए।
बहुदरमाई नगरपालिकाका मजीद मियाँले नागरिकताको प्रतिलिपिको लागि जिल्ला प्रशासन कार्यालयमा धाउँदा पनि प्रतिलिपि नबनेको बताए। कागजात मिलाएर प्रतिलिपि दिने भनेर आश्वासन दिंदै आएको तर आफूले प्रतिलिपि नपाएको बताए। जिल्ला प्रशासनमा आउने अधिकांश सेवाग्राही नागरिकता र प्रतिलिपि लिन लामो समयसम्म धाउनुपरेको गुनासो गर्छन्। यसबारे सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जनशक्तिको अभाव र प्रतिलिपि लिनेहरूको पर्याप्त कागजात नपुग्दा ढिलो हुने गरेको बताए। पुरानो दरबन्दीमा कर्मचारी रहेको र कामको चाप बढेको तथा अनावश्यक काममा पनि कर्मचारीहरू अल्झिनुपरेको कारण सेवाग्राहीहरूले समस्या झेल्नुपरेको बताए। उनले दरबन्दी अनुसार कर्मचारी भएको खण्डमा र सेवाग्राहीहरू पनि सचेत भएमा यस्तो समस्या आगामी दिनमा नहुने बताए।
अनावश्यक कागजातको माग गरेर कर्मचारीहरू अलमलमा पर्ने गरेको उनको भनाइ थियो। विवाहपूर्व बनेको नागरिकता अनुसार नै विवाह दर्ताबाट वैवाहिक नाता पुष्टि भएपनि पतिको नाममा नयाँ नागरिकता लिन आउनेहरूको सङ्ख्या बढी भएकोले कर्मचारीहरू त्यस कार्यमा अलमलिनुपरेको बताए। विवाहअगाडि बनेको नागरिकतामा विवाह दर्ता मात्र गरेर पतिको नाममा नागरिकता आवश्यक नभए पनि यसबारेमा सम्बन्धित पालिकाका जनप्रतिनिधिहरूले सम्झाउन नसक्दा जिल्ला प्रशासन कार्यालयले अनावश्यक झमेला बेहोर्नुपरेको उनको भनाइ छ।
सेवाग्राहीहरूलाई सहजरूपमा सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय क्रियाशील रहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here