प्रस, भिस्वा, १२ चैत/
छिपहरमाई गाउँपालिका भिस्वाबाट यतिखेर तस्करी बढेको छ।
रातिपख यहाँका व्यापारीहरूले भरिया लगाएर विभिन्न सामान भारतको सिकटा बजार पु–याउने गरेका छन्। कोरोना शुरू भएसँगै सीमा सिल भएको एक वर्ष बितेको छ।
यसबीचमा सशस्त्र र जनपद रहेको सीमा क्ष्Fेत्रमा तारबारसहितको ढाट लगाएर आवतजावत बन्द गरिएको छ। मुख्य सडकबाट आवतजावत बन्द भएपनि कोरोना बढेकै बेलादेखि चोरबाटोबाट भारत जाने र त्यहाँबाट नेपाल आउने क्रम रोकिएको पनि छैन। पर्सा जिल्लाको पोखरिया नगरपालिका, छिपहरमाई, कालिकामाई, धोबिनी, जगरनाथपुर, जीराभवानी, ठोरी गाउँपालिकाको ठोरीबाहेकका क्षेत्रबाट भारतको सिकटा बजारबाट सामान खरीद गरी ल्याउने गरिन्छ। सबैजसो कार्यमा नेपालीहरू सिकटा बजारमा गएर किनमेल गर्छन्। उनीहरूको सहज आवतजावत अहिले पनि जारी छ।
सरकारले भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेपछि सीमामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको र कोभिड सङ्कट व्यवस्थापन समितिले पनि सीमाबाट आउजाउ गर्नेहरूको ज्वरो नाप्ने, विवरण राख्ने र आवतजावत गर्न नदिने निर्णय गरे पनि भिस्वामा त्यस्तो केही व्यवस्था गरिएको छैन। यताका मान्छे उता जान्छन् र उताका मान्छे यता आउने गर्छन्।
दिउँसो नेपालीहरू ठूलो सङ्ख्यामा सिकटा बजार पुग्छन् भने रातिपख भिस्वा बजारबाट सयौंको सङ्ख्यामा भरियाहरू तस्करीको सामान लिएर सिकटा पुग्छन्। स्थानीय प्रहरीको समेत तस्करीमा मिलेमतो भएको बताइन्छ।
रातिपख प्रहरी गस्ती रहे पनि तस्करीका सामान बरामद नहुनु, मानिस पक्राउ नपर्नुले प्रहरीको मिलेमतो भएको पुष्टि गर्दछ।