प्रस, गरुडा, १२ चैत/
रौतहटको गढीमाई नगरपालिकास्थित ऐतिहासिक मेलाको अवसरमा प्रदेश प्रमुख डा राजेश झा अहिराजलाई नगरपालिकाको तर्फबाट सम्मानित गरिएको छ। ऐतिहासिक फागु बैरिया मेला महोत्सवको उद्घाटनको अवसरमा बिहीवार गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेका थिए।
रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरमा जन्मेका प्रदेश प्रमुख डा अहिराजले रिबन काटेर ऐतिहासिक समनपुर मेलाको उद्घाटन गरेका थिए। सन् १८१४–१६ मा भएको नेपाल–अङ्ग्रेज युद्धको क्रममा ३१ डिसेम्बर १८१४ को मध्यरातमा नेपाली पक्षले अङ्ग्रेजी फौजमाथि आक्रमण गरी तितरबितर पारेको थियो। अङ्ग्रेजी सेनाबाट आधुनिक तोप, बन्दुक तथा अन्य हतियारहरू खोस्न सफल नेपाली पक्षले अङ्ग्रेज सेनालाई नराम्ररी पराजित गरेको स्मरणमा सोही वर्षदेखि समनपुरमा मेला लाग्दै आएको छ। दुई सय छ वर्षदेखि लाग्दै आएको ऐतिहासिक मेलालाई गढीमाई नगरपालिकाले केही वर्षदेखि व्यवस्थित गर्दै आएको छ।सर्लाही र रौतहटका स्थानीयवासीले होलीको लागि आवश्यक सामग्री किन्ने मेलाको रूपमा समनपुर मेला प्रसिद्ध रहेको छ। पहिले करीब डेढ महीनासम्म लाग्ने ऐतिहासिक समनपुर मेला विगत केही दशकदेखि एक हप्तामा सीमित भएको छ। कोरोनाको कहरका बीच गत वर्ष र यो वर्ष पनि मेला केही प्रभावित भएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले जिल्लाको सबैभन्दा पुरानो बजारको रूपमा रहेको समनपुरको ऐतिहासिक मेलाले देश बचाउन पितापुर्खाले खेलेको भूमिकालाई मेलाले सम्मान गर्ने गरेको बताए। लडैया समनपुरको इतिहासले देशको इतिहासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताउँदै नगरप्रमुख यादवले मेला र बजारको संरक्षण र विस्तारमा नगरपालिकाले सम्भव भएसम्मको काम गरिरहेको बताए। समनपुरको ऐतिहासिक मेलाको उद्घाटन आफ्नै ठाउँका प्रदेश प्रमुखबाट हुनु पनि एउटा उपलब्धि भएको नगरप्रमुख यादवको भनाइ थियो।
गढीमाई नगरपालिकाका उपप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू तथा नगरभित्रका विभिन्न क्षेत्रका समाजसेवी र राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको उद्घाटन कार्यक्रमको सञ्चालन मेलास्थलका वडाध्यक्ष रामविनय राय यादवले गरेका थिए।
मेलाको उद्घाटन गर्नुअघि प्रदेश प्रमुख डा अहिराजले आफूले पढेको समनपुरस्थित शङ्कर गुदर माध्यमिक विद्यालयको अवलोकन गरेका थिए। विद्यालयमा पस्नासाथ विद्यालयका शिक्षकशिक्षिकाले पूर्वविद्यार्थी प्रदेश प्रमुख डा अहिराजलाई गम्छा तथा फूलको माला र अबिरले स्वागत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here