प्रस, वीरगंज, १२ चैत/
वीरगंजस्थित नेशनल इन्फोटेक कलेजका विद्यार्थीहरूले बिहीवार हेटौंडास्थित प्रकोप रिकभरी सेन्टर (एकीकृत डाटा केन्द्र) को अध्ययन भ्रमण गरेका छन्।
बिएससिसिएस आइटी र बिसिएमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रम अनुसार प्रयोगात्मक अध्ययन भ्रमण गराइएको कलेजका प्राचार्य मनीष सिंहले बताए।
प्राचार्य सिंहको नेतृत्वमा विद्यार्थीहरूलाई आइटी संयोजक अमरिश सिंह, स्नातक तह कार्यक्रम संयोजक विजय कुशवाहा र प्रकोप रिकभरी सेन्टरका प्राविधिकहरूले सेन्टरका विविध पक्षबारे जानकारी गराएका थिए।नेपाल सरकारको सिंहदरबारस्थित डाटा केन्द्रसँग प्रत्यक्ष जोडिएको हेटौंडा हुप्राचौरस्थित रिकभरी सेन्टर कोरियाली सरकारले निर्माण गरी गत वर्ष नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। उक्त केन्द्रमा विद्युतीय चालक इजाजतपत्र, सवारी दर्ता, एमआरपी, राष्ट्रिय परिचयपत्र, विद्युतीय हस्ताक्षरलगायत मुलुकका महत्वपूर्ण डाटाहरू सङ्कलित छन्।
उक्त डाटाहरू सङ्कलन गर्ने तरीका, सुरक्षाका उपाय, ह्याकरहरूले आक्रमण गरेपछि रोकथामका उपायलगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको प्राचार्य सिंहले बताए।