घरमैं बसेर होली खेल्न प्रहरीको आग्रह
प्रस, परवानीपुर, ११ चैत/
पर्साको सदरमुकाम वीरगंज र ग्रामीण भेगबाट मोटरसाइकल र मोबाइल चोरीका घटनाबाट पर्सा प्रहरी आफैं दुःख पाइरहेको बुझिएको छ।
पर्सा प्रहरीले आयोजना गरेको पत्रकार भेटघाटमा पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले यस्तो कुरा बताएका हुन्। उनले मोटरसाइकल र मोबाइल चोरीका घटना दिन प्रतिदिन बढ्दै गएकाले पर्सा प्रहरीको लागि चुनौतीको विषय भएको चर्चा गर्दै आगामी दिनमा चोरीका घटना कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा पर्सा प्रहरी गम्भीर रहेको बताए।
आपराधिक घटना, हुण्डी, तस्करी नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम गर्न पछिल्लो समय पर्सा प्रहरी सक्रिय रहे तापनि मोबाइल र मोटरसाइकल चोरीका घटनामा प्रहरी उदासीन रहेको सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै उनले आगामी दिनमा मोबाइल र मोटरसाइकल चोरहरूको सञ्जाललाई पर्दाफास गर्ने बताए। उनले सर्वसाधारणको लापरवाहीको कारण मोबाइल र मोटरसाइकल चोरी हुने गरेको तथा चोरीको मोबाइलमा सिम नराखी इन्टरनेट मात्र चलाउँदा अनुसन्धानमा कठिनाइ भएको बताए। त्यसैगरी, खुला सीमाको कारण चोरीका मोबाइल र मोटरसाइकल केही समयमैं भारतीय बजारमा पुग्ने गरेकाले पनि कतिपय घटनामा प्रहरीले उपलब्धि हासिल गर्न नसकेको उनले बताए।
पत्रकार सम्मेलनमा हिन्दूहरूको महान् पर्व होली घरपरिवारमैं सीमित भएर मनाउन प्रउ पाण्डेले आग्रह गरे।
पत्रकार सम्मेलनमा प्रउ पाण्डेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चैत ८ गतेको पत्र अनुसार भीडजन्य कार्य नगर्न, सामाजिक दूरी कायम गर्न, मास्कको अनिवार्य र उचित प्रयोग गर्न परिपत्र भई आएको र सोही अनुसार होली पर्व घरपरिवारमा मनाउन आग्रह गरिएको बताए। उनले परिवारभन्दा बाहिर गएर समूहमा होली नखेल्न र होली पर्वमा सार्वजनिक कार्यक्रम आयोजना नगर्न अनुरोध गरे।
पर्वको आडमा मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाउने र सिट सङ्ख्याभन्दा बढी मानिस राखेर सञ्चालन हुने सवारीसाधनविरुद्ध ट्राफिक नियम अनुसार कारबाई गरिने बताए।
यसैगरी, घरको झ्याल, बरन्डा आदिबाट रङ्ग, पानी, पिचकारी, लोला प्रहार गर्नेलाई पनि कानूनबमोजिम कारबाई हुने प्रउ पाण्डेले बताए। कुनै पनि व्यक्तिलाई सडक, बाटोमा निजको इच्छाविपरीत रङ, अबिर, मोबिल आदि प्रयोग गर्नेहरूविरुद्ध कारबाई गर्ने चेतावनी दिए।
होलीमा समूहगत भीड हुँदा कोरोना सङ्क्रमण फैलिने सम्भावना भएकोले सोअनुरूपको कुनै पनि गतिविधि नगर्न र गर्नेहरूविरुद्ध कानूनबमोजिम कारबाई हुने उनले बताए।
पत्रकार सम्मेलनमा सीमावर्ती क्ष्Fेत्रमा रहेका मदिरापसलहरू होलीको अवसरमा बन्द गरिने र सीमानाका पनि अघोषित बन्द गरिने जानकारी गराइएको थियो।
भारत, बिहारमा मदिरामाथि प्रतिबन्ध रहेको र होलीको अवसरमा ठूलो सङ्ख्यामा भारतीयहरू नेपाल प्रवेश गर्न सक्ने र सो क्रममा होहल्ला हुने सम्भावना हुने भएकोले सीमा क्षेत्रका मदिरापसलहरू होलीमा बन्द गरिने प्रउ पाण्डेले बताए।
बारामा मास्क नलगाउनेलाई कारबाई
प्रस, कलैया, ११ चैत/
जिल्ला प्रशासन कार्यालय, बाराले मास्क नलगाउने व्यक्तिलाई कारबाई गर्ने निर्णय गरेको छ।
बुधवार बसेको कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले सो निर्णय गर्दै भारतमा कोरोना बढेको कारण सीमाबाट आउजाउ गर्नेहरूमाथि निगरानी र सतर्कता अपनाइने निर्णय गरेको छ। बैठकले यसअघि कोरोनाकालमा सञ्चालनमा रहेका क्वारेन्टाइन, आइसोलेशन तयारी गर्ने निर्णय गरेको छ।
यसैगरी, स्वास्थ्य केन्द्रबाट प्रदान गर्ने सेवालाई प्रभावकारी गर्ने समितिले निर्णय गरेको छ। कोभिडको सङ्क्रमण फैलिन नदिन र जनतालाई सचेत गराउन विद्युतीय सञ्चारमाध्यम एफएमबाट सचेतनामूलक सन्देश प्रवाह गर्ने निर्णय गरिएको छ। सीमाबाट आउजाउ गर्नेहरूको अभिलेख राख्ने, नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य परीक्ष्Fणपछि मात्र प्रवेश दिने निर्णय गरेको छ।