प्रस, वीरगंज, ११ चैत/
पिस फर दलित फाउन्डेशन नेपालको आयोजनामा सखुवाप्रसौनी गाउँपालिकाको महुवनमा सरकारी योजना तथा दलित सशक्तीकरण तथा दलित अधिकारबारे नेतृत्व क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
सखुवाप्रसौनी र जीराभवानी गापाको देउरवाना, महुवन, लखनपुर, मधुवनमथवल, कौवा वनकटैया, सुपौली, शङ्करसरैया र सखुवाप्रसौनीमा गठित दलित दबाब समूहका अगुवाहरूले अहिलेसम्म गापाले दलितको लागि खासै कुनै योजना सञ्चालन नगरेको आरोप लगाए। उनीहरूले स्थानीय तह गठन भएको चार वर्ष बित्न लाग्दा पनि दलितलक्षित कार्यक्रम र सोको लागि बजेट विनियोजन नभएको गुनासो गरे। सखुवाप्रसौनी गापाका दलितहरूको लागि ग्यास चुलो, सिलिन्डर सहयोग गर्ने भनेर दलित समुदायबाट प्रतिव्यक्ति रु ८ सय सङ्कलन गरे पनि दुई वर्ष बित्दा पनि सो सहयोग उपलब्ध नगराइएको बताए। उनीहरूले दलित समुदायका व्यक्तिहरूले कम लेखपढ गरेको र सोको फाइदा उठाउँदै विनारसीद रकम बुझेको र ग्यास चुलो, सिलिन्डर वितरण नगरेको बताए। उनीहरूले यसबारेमा अहिलेसम्म कुनै जानकारी नगराइएको पनि गुनासो गरे। भेलाका अगुवाहरूले दलित अधिकारको लागि अबका दिनमा सङ्गठित भएर गापाको भेदभावपूर्ण रवैयाविरुद्ध आन्दोलन गर्नुपर्ने चेतावनी दिए। कार्यक्रममा दलित अगुवाहरूलाई प्रदेश २ सरकारले बनाएको दलित सशक्तीकरण ऐन, जातीय भेदभाव तथा छुवाछूत कसूर ऐन, संविधानले दिएको हकअधिकार, गापा, नपाले गरेको दलितको लागि व्यवस्था, सरकारले दिएको सेवा, सुविधाबारे छलफल भएको थियो।
यसैगरी, कार्यक्रममा दलितहरूको सामाजिक न्याय, स्वतन्त्रता, सामाजिक परिवर्तन तथा दलित सशक्तीकरण, राजनीतिक, शैक्षिक, आर्थिक विषयलगायतका विषयमा छलफल गरिएको थियो। त्यस्तै, नेपालमा दलितहरूको अवस्थाको विश्लेषण, स्थानीय तहले दलित समुदायको लागि चाल्नुपर्ने कदम, दलितहरूको अवस्था, विश्लेषण, उनीहरूको समस्या र चुनौतीलगायतका विषयमा पनि छलफल गरिएको पिस फर दलित फाउन्डेशन, पर्साका अध्यक्ष मनोज रामले बताए।
कार्यक्रमको सहजीकरण अध्यक्ष राम, उपाध्यक्ष चन्द्रकिशोर राम र सदस्य सुरेन्द्र पासवानले गरेका थिए। कार्यक्रममा पिस फर दलित फाउन्डेशनका लियापति देवी, उद्यम देवी, बालदेव राम, नागेन्द्र पासवान, हाकिम मुसहर, नागेन्द्र पासवान, जयलाल राम, सरस्वतीदेवी मुसहर, इनरदेव रामलगायतको सहभागिता थियो।