सञ्जय साह मित्र
नेपाल पत्रकार महासङ्घको निर्वाचन देशभर एकै साथ हुने मिति तय गरिएको छ। चैतको अन्तिम साता देशभरका पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ। अहिले होली नजीकिएको छ भने पत्रकारहरूको निर्वाचनको तिथि तोकिएपछि देशभरका पत्रकारहरूको सक्रियता बढेको देखिएको छ। पत्रकारहरूको निर्वाचन पत्रकारहरूका लागि मात्र नभई अन्य धेरै पक्षका लागि पनि चासोको विषय हुने गरेको छ। विगतदेखि नै नेपाली पत्रकारहरू विभिन्न राजनैतिक दल निकट रहेर संस्था गठन भएको र दलगत संरचनाको छायामा रहेर वैचारिक राजनीति गर्ने संस्थाको समेत विकास भइसकेको हुनाले विभिन्न राजनीतिक दल निकट पत्रकारहरूले यस निर्वाचनमा पनि आफ्नो पक्षको वर्चस्व कसरी कायम हुन्छ भन्ने दृष्टिकोणले हेर्ने गरेका छन्। परोक्ष्F नै भएपनि दलीय राजनैतिक चासो नेपाल पत्रकार महासङ्घको निर्वाचनमा हुने गर्दछ।
कतिपयले पत्रकारहरू कुनै दलको हुनुहुँदैन भन्ने मान्यता पनि राख्दछन्। लोकतन्त्रमा पत्रकारिता जहिले पनि इमानदार प्रतिपक्ष हो भन्ने मान्यता राख्नेहरू दलीय पत्रकारिता हुनुहुँदैन र पत्रकार कुनै दलको सदस्य हुनुहुँदैन भन्दछन्। यसैगरी पत्रकारिता नै विचार प्रवाहको सशक्त माध्यम भएकोले विचार प्रवाह गर्न पत्रकारितामा लाग्नेहरू पनि विचारले सुसज्जित हुनुपर्छ र विचारले सुसज्जित मानिसले पत्रकारिता गर्दा निस्सन्देह कुनै दल वा वर्गको पक्ष लिएकै हुन्छ। कसैले माने पनि नमाने पनि पत्रकारिता पनि वर्गीय हुन्छ र यस अर्थमा पत्रकारले पनि कुनै न कुनै पक्षको सेवा गरेकै हुन्छ भन्ने मान्यता राख्नेहरूले पत्रकारलाई विभिन्न कित्तामा राखेर हेर्दछन्। यस प्रकार सम्भव भएसम्म आफ्नो पक्षका मानिसको हातमा वा आफ्नो विचारलाई फैलाउने सम्भावना भएमा पत्रकारको हातमा नेपाल पत्रकार महासङ्घको नेतृत्व जानुपर्ने मान्यता अगाडि सार्दछन्।
विगतमा पनि नेपमको निर्वाचन विभिन्न दल निकट रहेका वा दलको समर्थन रहेका विभिन्न सङ्गठनहरूको गठबन्धनबाट भएको देखिन्छ। पत्रकारिता क्षेत्रमा क्रियाशीलहरूको विभिन्न सङ्गठन रहेको र ती सङ्गठनको निर्णय अनुसार अन्य सङ्गठनसित गठबन्धन गरी त्यसको निर्णयलाई आधार मानेर र त्यसलाई स्वीकार गरेर निर्वाचनमा गएको देखिन्छ। व्यक्ति ठीक भएको तर कुनै सङ्गठनको समर्थन नरहेको उम्मेदवारले खासै चर्चा नपाउने विगत त छ नै। सक्षम व्यक्ति छ तर कुनै सक्षम राजनीतिक दलको पत्रकार सङ्गठनको संरक्षकत्व प्राप्त छैन भने उपलब्धि पाउन नसकेको विगतमा देखिएको छ। राजनीतिक दलको सहमतिमा उठेको उम्मेदवारले मत पाउने हुन्छ। यो अहिलेको यथार्थ हो। यस यथार्थले दलीय पत्रकारिताको अवस्था केही हदसम्म बलियो रहेको पनि सङ्केत गर्दछ। नेपाली पत्रकारिता सदैव राजनीति प्रेरित किन भइरह्यो भने देशले निरन्तर राजनैतिक अस्थिरता भोगिरह्यो। राणाकालमा प्रारम्भ भएको नेपाली पत्रकारिताको पहिलो चालीस वर्ष तुलनात्मकरूपमा स्थिर देखिन्छ। त्यसपछि पत्रकारिताले निरन्तर परिवर्तनको पक्षमा आवाज मुखरित
गरिरहेको छ। यद्यपि पञ्चायतकालमा पत्रकारिताको अवस्था केही फरक थियो। मुख्यगरी देशमा प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहालीपछि सर्वसाधारणको राजनैतिक चेतनामा वृद्धि भएको र राजनैतिक अधिकारसँगसँगै अन्यान्य अधिकारको पक्षमा निरन्तर अभिमत जारी गरेको कारण पनि पत्रकारितामा राजनैतिक प्रभाव परिरहेको हो। जहिले पनि राजनैतिक अस्थिरताको वातावरण बन्नु र राजनैतिक दलहरूको कारण समाज आन्दोलित भइरहनुले पनि दलको पछि लाग्ने बौद्धिक समूह ठूलो हुन पुगेको र बौद्धिक समूहले नै पत्रकारिता गर्ने हुनाले यस प्रकारको वातावरण बन्न पुगेको हो। अझ पछिल्ला केही दशकमा विभिन्न प्रमुख राजनैतिक व्यक्तित्वले आफ्ना निकट व्यक्तिलाई पत्रकारितामा ल्याउने कारणले पत्रकारितामा राजनीति केही बढी हावी बन्न पुगेको हो।
पत्रकारितामा राजनीति तथा पत्रकारहरूको दलीय आबद्धता र समर्थन बढ्दै जाँदा पत्रकारितामा केही विकृति देखिएको पनि गुनासो रहने गरेको छ। यो एउटा अलग पक्ष हो र अहिले हुन गइरहेको नेपमको निर्वाचनमा पनि यसको प्रभाव पर्नु स्वाभाविक हो। विगत केही हप्तादेखि विभिन्न सञ्चारमाध्यममा कार्यरत कनिष्ठ र केही वरिष्ठ सञ्चारकर्मीहरूले नेपमको निर्वाचनको विषयलाई प्राथमिकता दिइरहेका छन् र सामाजिक सञ्जालमा निकै बढी चर्चा पनि पाएको छ। निर्वाचनमा उम्मेदवार बन्न चाहेको विषयलाई अन्य कोही वा निकटका व्यक्तिमार्फत फेसबूकमा फलानो पदको लागि फलानालाई प्रस्ताव पोस्ट गर्न लगाउने अनि प्रतिक्रिया बुझ्न खोज्ने प्रवृत्ति निकै बढेको छ।
बागमती प्रदेशको प्रदेश अध्यक्षका उम्मेदवार हेटौंडाका युवा पत्रकार गिरिजा अधिकारीले त आफ्ना प्रतिबद्धता वा घोषणापत्रसहित आफूलाई सहयोग गर्न सामाजिक सञ्जालमार्फत निरन्तर आग्रह गरिरहेका छन्। घोषणापत्र नै सार्वजनिक गरी सहयोग गर्न मतदाता समक्ष जाने सम्भवतः गिरिजा अधिकारी नै पहिलो व्यक्ति हुन् यस निर्वाचनको हकमा। सामाजिक सञ्जालमा उम्मेदवार घोषणा गर्ने वा गराउनेहरूले पत्रकार अधिकारीले जस्तै आफ्ना कुरा सबैमाझ राख्ने हो भने पनि तिनका प्रतिबद्धताप्रति पत्रकार र अन्य वर्गको चासो बढ्ने हुन्छ। आफूलाई उम्मेवार घोषणा गर्ने तर प्रतिबद्धता सार्वजनिक नगर्ने हो भने पत्रकारका स्थानीय मुद्दा कस्ता छन् तथा ती मुद्दाको समाधान कसरी हुन्छ भन्ने विषयमा नयाँ पत्रकार र समाजको अन्य वर्गले थाहा पाउँदैन। यसकारण आफूलाई उम्मेदवार घोषणा गर्नेले विगतमा
गरेको काम र निर्वाचित भएपछि गर्ने कामको प्रतिबद्धता पनि स्थानीय मुद्दासहित सार्वजनिक गर्नु आवश्यक देखिएको छ।
अहिले तीन तहको सरकार छ वा देशमा तीन तहको संरचना छ। यसै संरचना अनुसार स्थानीय तहमा पनि नेपमको शाखा हुनुपर्दछ भन्ने माग एक थरीको छ। तर स्थानीय तहस्तरको शाखा कमजोर हुने भएकोले जिल्लास्तरको शाखालाई बलियो मानिएको छ र स्थानीय तहस्तरको शाखाको मागले खासै चर्चा पाउन सकेको छैन। स्थानीय संरचनाजस्तो मानेर जिल्ला समितिलाई शक्तिशाली बनाइएको छ। यसले गर्दा जिल्ला, प्रदेश र केन्द्र गरी तीन तहको निर्वाचन हुन गइरहेको छ। यही तीन किसिमको निर्वाचन नै अहिले चर्चाको केन्द्रमा छ। यस निर्वाचनमा केन्द्रले केन्द्रीयस्तरको मुद्दा, प्रदेशले प्रदेशस्तरको मुद्दा र जिल्लामा जिल्ला तहको मुद्दाले प्राथमिकता पाएको हुनुपर्छ। माथि एकजना पत्रकारले आफ्नो प्रदेशको मुद्दा उठाएको प्रसङ्ग आइसकेको छ र यसैगरी जिल्लास्तरमा सबैभन्दा बढी समस्या हुने भएकोले जिल्लाका समस्या के–के हुन् तथा जिल्लामा पत्रकारको लागि के कस्ता काम गर्न सकिन्छ भन्ने प्रतिबद्धता आउनु आवश्यक हुन्छ। उदाहरणको लागि केही हदसम्म मकवानपुरलाई लिन सकिन्छ। मकवानपुरले एकजना पुराना पत्रकारलाई पेन्सन दिन शुरू गरेको छ। मासिक चार हजार रुपियाँ पेन्सन दिन शुरू गरेको मकवानपुरले युवा पत्रकारहरूलाई उपचार कोषको व्यवस्था गर्ने वैधानिक उपाय निकालेको छ। यसैगरी, गत वर्ष नेपम रौतहट शाखाले सबै शाखा सदस्यको कोरोना बीमा गरेको थियो। यी त उदाहरण हुन्, यस प्रकार अन्य के कस्ता काम गर्न सकिन्छ ?
के पत्रकारितालाई मर्यादित पेशा बनाउन केही गरेका छौं ? विगतमा पत्रकार र पत्रकारिताको पक्षमा के कस्ता काम गरेको छ–यसको उदाहरण दिन सकिन्छ। यदि नयाँ उम्मेदवार हो भने स्थानीय पत्रकारितालाई मर्यादित तथा व्यावसायिक बनाउन, पत्रकारको सम्मान बढाउन, पत्रकारमाथि आउने समस्याको समाधान गर्न र पत्रकारितालाई देशमा चिनाउन के, कस्तो काम कसरी गर्न सकिन्छ भनेर योजना सार्वजनिक गर्ने कि ? पत्रकारितामा पनि बाहुबली, जातिवादी, साम्प्रदायिक तथा अन्य किसिमले नकारात्मक विभेद सिर्जना गरी पदमा पुग्ने सोच राखेर जाने हो कुर्सी वा पद पाउन त सकिएला तर समग्रमा पत्रकारिता पेशालाई खासै फाइदा हुन्न। र, सम्भव भएसम्म पत्रकारिता पेशालाई बदनाम गराउनेहरूलाई नेतृत्व तहमा जानबाट रोक्ने प्रयास गर्नु सम्पूर्ण सञ्चारकर्मी सदस्यहरूको कर्तव्य हुन आउँछ। अहिले नै विचार नपु–याउने हो भने पछि पछुतो मान्नुपर्ने स्थिति नआउला भन्न सकिन्न। समयमा नै पत्रकारहरूले सचेत हुनुपरेको छ। अरूको खबरदारी गर्ने पेशाकर्मीले यस किसिमको जिम्मेवारी आएको छ भनी आफैं खबरदार हुनुपरेको छ, सजग बन्नुपरेको छ।