प्रस, पोखरिया, ८ चैत/
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य निजामुद्दीन समानीले पोखरिया अस्पतालको सञ्चालन र व्यवस्थापनका लागि प्रदेश सरकारबाट विनियोजित रकम तोकिएको शीर्षकमा खर्च गर्नुपर्ने माग गर्दै आइतवारदेखि पुनः धर्ना कार्यक्रम शुरू गरेका छन्।
आज दिउँसो १ बजे पोखरिया नगरपालिकाको मूलगेटमा तालाबन्दी गरी अपराह्न ४ बजेसम्म नेता समानीलगायतले धर्ना दिएका थिए। नेता समानीले मूलगेटमा तालाबन्दी गरेको र पोखरिया नपा अगाडि तीन घण्टा धर्ना कार्यक्रम निरन्तर जारी रहने बताए। उनले आम जनताको काम नरोकियोस् भनेर अन्य गेटबाट आवतजावत सहज गरिएको बताए। प्रदेश सरकारले पोखरिया अस्पतालको सञ्चालन र व्यवस्थापनको लागि नगरपालिकामा रु ४ करोड ४ लाख विनियोजन गरी पठाएको थियो। सो रकमबाट हालसम्म एम्बुलेन्स खरीदको लागि मात्र टेन्डर आह्वान गरिएको छ। पोखरिया अस्पतालमा प्रसूति शाखा सञ्चालनको लागि आवश्यक उपकरण र एनआइसियु, आइसियुका लागि उपकरण तथा फार्मेसीको लागि औषधि र भौतिक निर्माणका लागि बजेट विनियोजन गरिएकोमा सो अनुकूल खर्च नगरिएको भन्दै जसपाका केन्द्रीय सदस्य समानीले निरन्तर ध्यानाकर्षण गराउँदै आएका छन्।
यस अघि फागुन २ गते प्रदेश सरकारले पठाएको बजेट सोही शीर्षकमा खर्च गर्न माग गर्दै फागुन २ गते नेता समानीको नेतृत्वमा धर्ना दिइएको थियो। सो बखत नगरप्रमुख दीपनारायण रौनियारले फागुन २९ गतेसम्म सबै कामको प्रक्रिया अगाडि बढाउने र सो अवधिसम्म आन्दोलनको कार्यक्रम स्थगित गर्न माग गरेका थिए। सोही अनुरूप उक्त समयको आन्दोलन स्थगित भएको थियो तर तोकिएको समयमा कामको प्रक्रिया अगाडि नबढेको भन्दै आइतवारदेखि समानीको नेतृत्वमा जयनारायण यादव, बलिराम यादव, राजनारायण कुर्मी, राधेश्याम सोनार, सुरेश यादव, शेषनाथ साह, बलिराम साह, धर्मेन्द्र पासवानलगायत स्थानीय क्लबका पदाधिकारी, सदस्य, सामाजिक अगुवाहरू धर्नामा बसेका छन्। प्रक्रिया अगाडि नबढाउन्जेल दैनिक दिउँसो १ बजेदेखि ४ बजेसम्म धर्ना दिने कार्यक्रम तय भएको नेता समानीले बताए। उनले पोखरिया अस्पतालमा गाइनोको चिकित्सक भए पनि सो सम्बन्धी उपकरणको अभावमा गर्भवती महिलाहरूको निजी अस्पतालमा महँगोमा उपचार गराउनुपर्ने बाध्यता रहेको बताए। सरकारी अस्पतालको सञ्चालन, व्यवस्थापन गतिलो तरीकाबाट गर्न सके सर्वसाधारणले पोखरिया अस्पतालबाट सहज र सरल तरीकाबाट सेवा लिन सक्ने उनले बताए। यसका लागि नगरपालिका संवेदनशील हुनुपर्नेमा उल्टो ध्यानाकर्षण गराउँदा पनि सुस्त भएकोमा उनले चिन्ता व्यक्त गरे। नेता समानीले पोखरिया नगरपालिका आम जनताको स्वास्थ्य सेवा दिने काममा गैरजिम्मेवार भएको आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here