नितेश कर्ण, वीरगंज, ७ चैत/
स्वास्थ्य बीमा गरेका ज्येष्ठ नागरिकले नारायणी अस्पताल वीरगंजको फार्मेसीबाट अहिलेसम्म बीमाबापत औषधि नपाउने गरेको गुनासो बढ्दै छ।
सरकारले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य बीमा निश्शुल्क गरेको र उनीहरूलाई चिकित्सकको सल्लाहबमोजिम आवश्यक औषधि रु एक लाखभन्दा मुनि उपलब्ध गराउने नीति रहे पनि अहिलेसम्म नारायणी अस्पतालबाट सोअनुरूप औषधि उपलब्ध नहुने गरेको पाइएको छ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको देउरवानाबाट लामो दूरी तय गरेर आफूलाई आवश्यक औषधि लिन आएका ज्येष्ठ नागरिक कमरुद्दीन अन्सारीले पाँचवटा औषधि चिकित्सकले लेखेकोमा एउटा मात्र पाएको बताए। सोमध्ये बाँकी औषधिका लागि नारायणीबाट नेशनल मेडिकल कलेजमा रेफर गरिएको र त्यहाँबाट पनि एउटाबाहेक अन्य औषधि नपाएको बताए। कमरुद्दीनजस्तै वीरगंज महानगर–२ निवासी मीना देवीले अस्पतालबाट औषधि नपाएको गुनासो गरिन्। उनले पनि अस्पतालमा चिकित्सकले लेखेका पाँचवटा औषधिमध्ये दुईवटा मात्रै फार्मेसीमा उपलब्ध भएको बताइन्।
नारायणी अस्पताल र यहाँबाट रेफर गरिने नेशनल मेडिकल कलेजबाट आवश्यक औषधि उपलब्ध नहुने गरेको उनीहरूको गुनासो छ।
स्वास्थ्य बीमा अन्तर्गत १ लाख रकमभित्र ज्येष्ठ नागरिकहरूले नारायणी अस्पताल र सो अस्पतालमा उपचार सम्भव नभए अन्यत्रबाट औषधिसमेतको स्वास्थ्य सुविधा लिनसक्ने व्यवस्था गरिएको छ। सरकारले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य बीमा गरे पनि पर्सा जिल्लामा ज्येष्ठ नागरिकहरूले सरकारी अनुदानको फाइदा उठाउन सकेका छैनन्। उनीहरूको यो अभियानमा अस्पताल बाधक बन्दै आएको छ। स्वास्थ्य बीमा लागू भएको आधा दशकभन्दा बढी समय बितिसकेको छ र ज्येष्ठ नागरिकहरूको निश्शुल्क स्वास्थ्य बीमा कार्यक्रम विगत तीन वर्षदेखि गरिंदै आएको छ।
नारायणी अस्पतालमा सेवा लिन आउने ज्येष्ठ नागरिकहरूले चिकित्सकहरूले लेखेबमोजीम औषधि उपलब्ध नहुने गरेको गुनासो गरेका छन्। अस्पतालका मेसु डा सञ्जय ठाकुरले यसअघि नै अव्यवस्थित फार्मेसीलाई व्यवस्थित गर्ने आश्वासन दिएका थिए तर उनी आएको महीनौ बितिसक्दा अस्पतालको औषधि व्यवस्थापनमा सुधार आएको छैन। नारायणी अस्पतालको प्रसूतिगृहमा सामान्य मानिसहरूको लागि फार्मेसी र ज्येष्ठ नागरिकहरूको लागि महेन्द्र आरोग्य भवन पछाडि नयाँ बनेको फार्मेसीबाट औषधि उपलब्ध गराइँदै छ। दुवै फार्मेसीमा पर्याप्त औषधि छैनन्। प्रसूतिगृहमा रहेको फार्मेसी खुला रहने गरे पनि ज्येष्ठ नागरिकहरूको लागि स्वास्थ्य बीमा अन्तर्गत औषधि उपलब्ध गराउने महेन्द्र आरोग्य भवन पछाडिको फार्मेसी प्रायः बन्द हुन्छ। त्यहाँ गेटमा ताल्चा लागेको हुन्छ र ज्येष्ठ नागरिकहरू आउँछन् र फर्किन्छन्। चिकित्सकहरूले लेखेबमोजीम औषधि उपलब्ध नहुनुको कारणबारे दुवै फार्मेसीमा रहेका मानिसहरूले जवाफ दिन चाहेनन्। उनीहरूले यसबारेमा कुनै प्रतिक्रिया दिएनन् र मेसु डा ठाकुरसँग बुझ्न सुझाव दिए।
Home समाचार प्रमुख समाचार स्वास्थ्य बीमा गराएका ज्येष्ठ नागरिकले अस्पतालको फार्मेसीबाट औषधि पाउँदैनन्