मुकुन्द आचार्य

यो मनुष्यलोकमा सबैभन्दा श्रेष्ठ र सबैभन्दा नीच मान्छे नै हो। यो मान्छे भनाउँदा पशुले अत्यन्त नीच काम पनि गरेकै छ र उत्तिकै उच्चतम काम गरेर नाम, दाम, माम पनि हाम गरेकै छ। अचम्म उल्काको छ, यो मान्छेको जात १
यसै क्रममा मान्छेले गाईगोरु, बाख्रा, खसी, बोका, भैंसी, कुकुर आदि पालेझैं टेन्शन पनि पालेको छ। सबैले थरीथरीका टेन्शन पालेर आफ्नो जीवनयापन गरिराखेका छन्।
मजाको कुरो त के छ भने यो टेन्शनका बारेमा सबैलाई थॉछ। यसको नेपालीकरण गरेर सम्झाइ राख्नुपर्ने आवश्यक छैन। टेन्शनको आन्द्राभुँडी सबैलाई थॉछ।
तैपनि यसका लाभहानिबारे बुझेर पनि हामी टेन्शनले टेन्श हुन छाड्दैनौं। कतिपय व्यस्त देखिने मान्छे छिनछिनमा थेगोसरी नै बोल्छन्– “आफूलाई कत्रो टेन्शन छ।” यो टेन्शनको बिमारी पिउनलाई पनि छ, हाकिमलाई पनि छ। यसको खास औषधि आजसम्म कसैले बनाउन सकेको देखिंदैन। यै ताल हो भने टेन्शन मात्र बाँकी रहन्छ, मान्छे च्वाँट १
अब त हुँदाहुँदा पेन्शनको पनि टेन्शन लिएर मान्छेले बाँच्नुपर्ने अवस्था छ। फलानो दिन पेन्शन लिन जानु छ, भनेर दश दिन पहिलेदेखि नै पेन्शनहरू योजना बनाउन थाल्छन्। बूढाको पेन्शन कसरी हरण गर्ने भनी घरका टेन्शनमा हुन्छन्।
म पनि पेन्शनको लामो लाइनमा उभिएको थिएँ। अघिल्तिर पनि थुप्रै पेन्शनर थिए, पछिल्तिर पनि उत्तिकै लामो लर्को थियो। सबका सब टेन्शनयुक्त। सबै अघि सर्न लालायित, छटपटी, व्यग्रता र तँछाडमछाडको मनस्थितिमा। तर लाइन अघि सर्ने मुडमा देखिएन।
मेरो अघिल्तिर एकजना दुब्ला पात्ला, निधारमा भव्य रक्तचन्दन सुशोभित, प्रायः सबै औंलामा अलग–अलग ग्रहलाई खुशी पार्न अलग–अलग धातुका औंठीहरू चम्किरहेका, मुखमा भर्खरै पानले छरेको छादेको लाली, हेर्दा शान्त सौम्य होलान् जस्तो। तर तुरुन्तै उनले मेरो अनुमान गलत साबित गर्दै गोजीबाट मोबाइल नामक यन्त्र झिके र त्यसमा तास खेल्न थाले। कस्तो स्मार्ट…१
सोचें, यस्तो हुलमा कसरी खेल्न सक्नुहुन्छ ? उनले रेडिमेड जवाफ दिए, यो पेन्शनको टेन्शनमा रहनुभन्दा त तास खेलेर टाइम पास गर्नु बुद्धिमानी हैन र ?
हो त नि, भनौं भने आफू बुद्धिहीन होइन। त्यसैले मैले टाउको मात्र हल्लाए, बोलेर क्यै भएन र म पनि उनको मोबाइल यन्त्रमा ध्यानकेन्द्रित गरेर टेन्शनमा भुल्ने प्रयासमा लागे। पेन्शनको टेन्शनलाई चिप्लेकीराझैं बिस्तारो चालले काम गर्ने बैंक कर्मचारीहरूले बुझिदिए कति राम्रो हुन्थ्यो होला, भन्ठानें।
अनि एउटी वृद्धालाई सहारा दिंदै छोरा चैंले ल्याए। केहीले भने– कस्तो कलियुगी श्रवणकुमार रै‘छन्। लाइनमा उभिएका एकजना अनुभवी बूढाले कमेन्ट गरे– “पेन्शन के एको पैसा बुढिया के हात ना परी। बेटवा पैसा ले के उडन छू होजाई। आ… बुढिया रोवत रही।”
नभन्दै त्यस्तै भयो। बूढीले त पेन्शनको पैसा छुन पनि पाइन। बिचरी रुन्चे अनुहार बनाएर सिंढीबाट ओर्लन सहारा खोज्दै थिई। कठै बरा १
कुनै पेन्शनरको वारिस भर्खरै युवावस्थाको रङ्गिन रोडमा पुगेको थियो। उसले चिच्याउने पारामा आक्रोश ओकल्यो– “एतना कर्मचारी लोग बा, दु तीन गो काउन्टर चलावेके ना चाहीं ? लाइन मे खडुवात खडुवात हमर त गोड दुखा गइल। कवनों सरकार आवो, इहवाँ कभी सुधार ना होई।”
यो आकाशवाणी हुनासाथ एकै छिन बैंक कर्मचारीहरू निश्शब्द भए। बोल्ने पनि क्यै नबोले जस्तो गरेर उभिरह्यो। एक निमेषमा यो काण्ड समाप्त भयो। कतै क्यै नभए जस्तै मुर्दा शान्ति !
एक छिनपछि नै बिजुली बेपत्ता भयो। अनि कम्प्युटर चल्ने कुरै भएन। पेन्शनरहरू झन् अत्तालिए। कसो म आफ्नो पालो सकेर निस्कन लागेको थिएँ।
पेन्सनको टेन्शन, प्लीज डन्ट मेन्शन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here