उमाशङ्कर द्विवेदी
त्यहाँ पुगेर भगवान् श्रीकृष्ण र अर्जुनले पृथ्वीमाथि मस्तक टेकेर ढोगे। ती दुई नर र नारायणलाई त्यहाँ आएको हेरेर शङ्करजी अत्यन्त प्रसन्न भएर हाँस्दै भने– वीरवरहरू हो, तपाईंहरू दुवैजनालाई कैलाशमा स्वागत छ, विश्राम गर्नुहोस् र मलाई भन्नुहोस्– तपाईंहरूको के इच्छा छ। तपाईंहरू यहाँ जुन कामले आउनुभएको छ, म त्यसलाई अवश्य नै पूर्ण गर्नेछु। भगवान् शङ्करको कुरा सुनेर श्रीकृष्ण र अर्जुन दुवैजनाले हात जोडेर भने– भगवन्, तपाईं नै भव, सर्व, रुद्र, वरद, पशुपति, उग्र, कपर्दी, महादेव, भीम, त्रयम्बक, शान्ति र इशान आदि नामबाट प्रसिद्ध हुनुहुन्छ, तपाईंलाई हामीले बारम्बार नमस्कार गरिरहेका छौं। तपाईं भक्तहरूमाथि दया गर्ने खालको हुनुहुन्छ, भगवन्, हाम्रो मनोरथ पूर्ण गर्नुहोस्।
तदन्तर अर्जुनले मनमनैमा भगवान् श्रीकृष्ण र शिवजीको पूजन गरेर शीवजीसित भने– भगवन्, म दिव्य अस्त्रको चाहनाले यहाँ आएको छु। यो सुनेर भगवान् शिवले मुस्कान छर्दै भने–श्रेष्ठ पुरुषहरू, म तपाईं दुवैजनाको स्वागत गरिरहेको छु। तपाईंहरूको अभिलाषाबारे थाहा पाएँ। तपाईंहरू यहाँ जुन वस्तुको लागि आउनुभएको छ, त्यो म तुरुन्त दिंदैछु। यहाँबाट नजीकै एउटा अमृतमय दिव्य सरोवर छ, त्यसैमा मैले आफ्नो दिव्य धनुष र बाण राखिदिएको छु, त्यहाँसम्म गएर बाणसहित धनुष लिएर आउनुहोस्।
‘बेस’ भनेर दुवै वीर शिवजीको पार्षद्सित त्यस सरोवरमा गए। त्यहाँ गएर उनीहरूले दुइटा नाग हेरे, एउटा सूर्यको समान प्रकाशमान थियो, अर्को एक हजार मस्तकवाला थियो, उसको मुखबाट आगोको लप्का निस्किरहेको थियो। श्रीकृष्ण र अर्जुन त्यस सरोवरको जलबाट आचमन गरेर ती नागहरूको छेउमा गई हात जोडेर शिवजीलाई नमस्कार गर्दै शतरुद्रीयको पाठ गर्न थाले। अनि भगवान् शङ्करको प्रभावले ती दुई महानाग आआफ्नो स्वरूप त्यागेर धनुषबाणमा परिणत भए। यसबाट उनीहरू बडो प्रसन्न भई धनुषबाणलाई लिएर शङ्करजीको छेउमा आए। त्यहाँ आएर ती अस्त्रहरूलाई उनीहरूले शङ्करजीलाई अर्पित गरिदिए। अनि भगवान् शङ्करको पासुलाबाट एउटा ब्रह्मचारी प्रकट भए। ती ब्रह्मचारीले वीरासनमा बसेर त्यस धनुषलाई उचाली त्यसमाथि विधिवत् बाण राखेर डोरीलाई ताने। अर्जुनले यी सबै ध्यानपूर्वक हेरिरहे र शिवजीले जुन मन्त्रको वाचन गरे त्यसलाई पनि याद गरे। अनि ती ब्रह्मचारीले ती धनुषबाणलाई पुनः सरोवरमा फ्याँकिदिए। तत्पश्चात् शङ्करजीले प्रसन्न भएर आफ्नो पाशुपत नामक घोर अस्त्र अर्जुनलाई दिए। त्यसलाई पाएर अर्जुनको हर्षको सीमा नै रहेन। अब उनी आफूलाई कृत्य–कृत्य मान्न थाले। त्यसपछि अर्जुन र श्रीकृष्ण शिवलाई नमस्कार गरी उनको आज्ञा लिएर आफ्नो शिविरमा फर्किआए (यो जम्मै घटना अर्जुनले आफ्नो स्वप्नमा हेरेका थिए)।
यता श्रीकृष्ण र दारुक कुरा गरिरहे, राति छर्लङ्ग बित्यो। अर्कातिर राजा युधिष्ठिर पनि निन्द्राबाट ब्यूँतिएर स्नानगृहतिर गए। त्यहाँ नित्यक्रिया सकेर श्वेत वस्त्र धारण गरेका एक सय आठजना युवा स्नातक जल भरिएका सुनका घैंटा (कलश) लिएर उभिएका थिए। युधिष्ठिर एउटा महीन वस्त्र लगाएर श्रेष्ठ आसनमाथि बसी त्यस मन्त्रपूत जलले स्नान गर्न थाले। उनी स्नान पूजनबाट निवृत्त भएर बसैकै थिए कि एउटा दूत आएर खबर सुनायो–महाराज, भगवान् श्रीकृष्ण पाल्नुभइरहेको छ। राजाले भने– उनलाई स्वागतपूर्वक लिएर आऊ। तदन्तर भगवान् श्रीकृष्णलाई एउटा सुन्दर सिंहासनमाथि बसालेर राजा युधिष्ठिरले उनको विधिवत् पूजन गरे। यसपछि अन्य दरबारियाहरूको उपस्थिति हुन थाल्यो। विराट, भीमसेन, धृष्टद्युम्न, सात्यकि, चेदिराज, धृष्टकेतु, दु्रपद, शिखण्डी, नकुल, सहदेव, चेकितान, केकयराजकुमार, युयुत्सु, उत्तमौजा, युधामन्यु, सुबाहु र द्रौपदीका पाँच पुत्र–यी तथा अन्य धेरैजसो क्षत्रिय महात्मा युधिष्ठिरको सेवामा उपस्थित भएर उत्तम आसनमा विराजमान भए। श्रीकृष्ण र सात्यकि एकै आसनमाथि बसेका थिए। अनि राजा युधिष्ठिरले ती जम्मैले सुन्ने गरी श्रीकृष्णसित भने– भक्तवत्सल, जसरी देउताहरू इन्द्रको आश्रयमा रहन्छन्, त्यसै प्रकार हामी पनि तपाईंकै शरणमा रहेर युद्धमा विजय र स्थायी सुख चाहन्छौं। सर्वेश्वर, हाम्रो सुख र हाम्रो प्राणको रक्षा–सबै तपाईंकै अधीनमा रहेको छ। तपाईं यस्तो कृपा गर्नुहोस्, जसबाट हाम्रो मन तपाईंमैं लागिरहोस् तथा अर्जुनको प्रतिज्ञा सत्य होओस्। यस दुःखरूपी महासागरबाट अब तपाईंले नै हाम्रो उद्धार गर्नुहोस्। पुरुषोत्तम, तपाईंलाई हाम्रो बारम्बार नमस्कार छ। देवर्षि नारदजीले तपाईंलाई पुरातन ऋषि नारायण भनेर भन्नुभएको छ। तपाईं नै वरदायक विष्णु हुनुहुन्छ, यो कुरालाई आज सत्य गरेर देखाइदिनुहोस्। क्रमशः…