राजेश मिश्र
देहातमा आगन्तुकलाई ‘पहुना वा मेहमान’ मानिन्छ। यद्यपि ‘पहुना’ भनेपछि ‘दामाद वा बहनोइ’ (दिदी/बहिनीका पति) भन्ने मनोविज्ञान स्थापित छ। दामाद र बहनोइ अति सम्मानित र आदरणीय कुटुम्ब हुन्। पहुनालाई घरका मात्र होइन, गाउँका सबै मानिसहरू सम्मान गर्दछन्। इज्जत गर्दछन्। नाता अनुसार ढोग्ने र आशीर्वाद लिने/दिने शिष्ट आचरण विद्यमान छ। गाउँका मानिसहरूले दामाद/बहनोइको कुशल मङ्गल सोध्ने, सत्कार गर्ने र खानाको लागि बोलाउने परम्परा अमूल्य देहाती संस्कार हो।
सालो र सालीहरूका निम्ति बहनोइहरू मनोरञ्जनका उपक्रम पनि हुन्। सालो/साली र बहनोइहरूबीच एकअर्कासँग हाँसोठट्ठा गर्नेे परम्परा पुरातनदेखि निरन्तर छ। सामान्यतया वैवाहिकलगायतका कार्यक्रममा बहनोइलाई ‘रङ्ग लगाउने’ वा ‘दही चटाउने’ (मुखमा दही लेप्ने) मनोरञ्जनात्मक क्रियाकलाप नहुने कुरै हुँदैन। होलीपूर्व बहनोइको आगमन भएमा रङ्ग र हिलोजन्य उपहारसहित फर्किने सम्भावना प्रबल हुन्छ। होली मनाउन कसको घरमा बहनोइ आएका छन् भन्ने कुरा युवाहरूको चाँसोमा पर्छ।
होलीको दिनको देहाती हास्यरसयुक्त एक प्रसङ्ग प्रस्तुत छ।
“पहुना के बोलादीं बाबाजी, होली खेलेके बा,” युवाहरूको झुन्डले एक स्वरमा वृद्धसँग भनिरहेको थियो। ती वृद्ध खटिया (खाट)मा बसेर होलीको गीत गुनगुनाइरहेका थिए। युवाहरूले ‘पहुना’लाई बाहिर बोलाइदिनुस् भन्दै वृद्धसँग आग्रह गरिरहेका थिए। वृद्धले यताउति हेर्न थाले। उनी मुस्कुराउँदै युवाहरूतर्फ हेरिरहेका थिए। साङ्केतिकरूपमा उनले टाउको दायाँ–बायाँ हल्लाउँदै ‘दामादजी’ छैनन् भनिरहेका थिए। भलादमी र उदण्ड दुवै प्रकृतिका मिश्रित युवाहरूको झुन्ड वृद्धको सङ्केतलाई स्वीकार गर्ने पक्षमा थिएन। क्रन्दन गर्न थाले। हल्ला मच्चाउन थाले। उनीहरूको चर्को स्वर देहातको शान्त माहोलमा सर्वत्र पुगिरहेको थियो।
यद्यपि वृद्धले धेरै विचार गरे। उनले युवाहरूको अगाडि ज्वाइँलाई उपस्थित गराउनु मनासिब नहुने ठाने। उनको आशङ्का स्वाभाविक थियो। उनले भने, “दामाद जी नइखीं नु आइल बबुवा, जा लोगन ओह टोला, केहु ना केहु के घरे बहनोइ आइले होइहें।” वृद्धले युवाहरूलाई ज्वाइँ नआएको बताउँदै पल्लो टोलमा जान सुझाए। युवाहरूमध्ये एकले भन्यो, “ना बाबाजी पहुना काल्हु सँझिया खुनी आइल बानी, हमनी के थाह बा बाबाजी, मत भुलियाइ, बोलादीं,” पहिलो चुप नहुँदै दोस्रोले भन्न थाल्यो, “बाबाजी हमनीं के दु/तीन गोडा जातानी सन घर में देखे, पहुना ना होइहन त लवट जाएमसन, होई।” उनीहरूले भिनाजु आएको कुरा आफूहरूलाई थाहा रहेको वृद्धसँग भन्दै थिए। घरभित्र जान दिनुस् यदि पहुना छैनन् भने हामी फिर्ता जान्छौं भन्न पनि छुटाएनन् उनीहरूले।युवाहरूको कोलाहल गुञ्जित भयो। सेनाले टार्गेटलाई घेरे जस्तै घरबाट उम्कन सक्ने सम्भावित बिन्दुहरूमा युवाहरूको बटालियन तैनात थियो। रङ्ग र अबिर लिएका युवाहरूले वृद्धसँग देखाउँदै अन्य केही नलगाउने भनिरहेका थिए। स्वभावतः गोबर र हिलो लिएका युवाहरूले शिकारी जस्तै घात लगाएर कुनाकप्चामा लुकेका थिए।
एकातर्फबाट चर्को स्वरमा हल्ला गुञ्जायमान भयो, ‘होदे बाड्न पहुना, कोला में लुकाइल बाड्न, टाटी फारके झाँकतारन।’ त्यहाँ उपस्थित सबैको ध्यान हल्लातर्फ आकृष्ट भयो। कोही यता, त कोही उता दौडिन थाले। हल्लाखल्ला मच्चियो, ‘पकड–पकड, पोत–पोत’ जस्ता शब्द ध्वनि गुञ्जित भयो।
युवाहरूको होहल्ला पहुनाको कानमा शुरूमैं पुगिसकेको थियो। त्यति बेलादेखि नै उनी तनावमा थिए। घरभित्रका कोठाहरूमा उनलाई सुरक्षा महसूस भइरहेको थिएन। किनभने घरका टाटीहरू माथिबाट एक/दुई फिट छोटो थियो। ढोकाको माथिबाट पनि कोठामा छिर्न सक्ने सम्भावना प्रबल थियो। यदि युवाहरूको हुल घरभित्र छि–यो भने पहुना कदापि उम्किने अवस्थामा थिएनन्। उनलाई सुरक्षित स्थानान्तरण हुनु सजिलो थिएन। भाग्यवश ससुरा हजुरबा बाहिर बसिरहेकाले युवाहरूको आक्रमण रोकिएको थियो। घरबाहिर अड्किएको थियो।
उहिले प्रायः घरको पछाडि खरको टाटीले घेरेर ‘कोला’ बनाइएको थियो। महिलाहरूको शौचादिको सवालमा कोला नै एकमात्र संसाधन थियो। टाटीमा औंलाले थोरै चौडा पारेर सोहीबाट पहुनाले युवाहरूलाई देखिइरहेका थिए। हुड्दङ्गीहरूको मानसिकतालाई मूल्याङ्कन गरिरहेका थिए। युवाहरूको ध्यान चोरेर उनी अन्र्तध्यान हुन चाहन्थे।
दुर्भाग्यवश, टाटीको फाँफडबाट उनको ‘पाइजामा’ (सुरुवाल) प्रस्ट देखिइरहेको थियो। एक युवाको ध्यान टाटीतर्फ आकृष्ट भयो। पाइजामा देखा प–यो। पहुना नै हुन् भन्ने कुरा यकीन भएपछि हल्ला भएको थियो।
सबै यताउति दौडिरहेका थिए। उफ्रिरहेका थिए। केटाहरूको एक हुल घरभित्र पनि छि–यो। युवाहरू कराइरहेका थिए, ‘होने चलसन, केंवाडी खोलसन, पहुना कोला में बाड्न।’ युवाहरूको क्रन्दनले पहुना बेहाल थिए। केटाहरूले ढोकाको किल्ली खोल्ने प्रयास गरे। खुलेन। पहुनाले बुद्धि पु–याएका थिए। सिकड लगाइदिएका थिए। केटाहरूले टाटीको रस्सी खोलेर कोलामा प्रवेश गर्ने प्रयासमा व्यस्त भए। पहुना भ्यागुता जस्तो कोलामा उफ्रिन थाले। कम्मरमा गम्छा बाँधे। हातमा चप्पल लिए। हल्का निहुरिए। टाटीलाई लक्षित गरे । त्यसपछि गैंडाको जोशमा टाटीलाई चिर्दै र फाँड्दै बाहिरिए। तीव्र वेगमा गल्ली हुँदै भाग्न थाले। अगाडि पहुना दगुरिरहेका थिए। पछाडिबाट युवाहरूको हुल पहुनालाई पछ्याइरहेको थियो। पहुनामाथि गोबर र हिलोेको बौछार भइरहेको थियो। लखेट्दै युवाहरू एकले अर्कोलाई भनिरहेका थिए, ‘कुछ गोडा होने से जासन आ कुछ गोडा हेने से जासन, चारु ओर से घेरल जाव।’ निकै बेरसम्म यस्तो चलिइरह्यो।
पहुना अन्तध्र्यान भइसकेका थिए। युवाहरूको जमात मन्दिरको प्राङ्गडमा एकत्रित भएको थियो। भुनभुन चलिरहेको थियो। एकले अर्कोलाई दोषारोपण गरिरहेका थिए। पहुना कहाँ लुकेका छन् ? कतिबेला अन्तध्र्यान भए ? भन्नेबारे सबै अनभिज्ञ थिए। पाँच समूहमा विभाजित भएर उनीहरू गाउँभरि फैलिए। कुनाकाप्चामा खोज्न थाले। पहुना कतै पनि भेटिएनन्। युवाहरू हताश र निराश भए। थकित भए। जो जहाँ थिए, त्यहीं पहुनाको चतुराइको चर्चा गर्न थाले।
गोठमा गाई र भैंसीको हलचल भइरहेको थियो। शिशिर ऋतुको उत्तराद्र्धमा बिहान चीसो र दिउँसो कडा घाम लाग्ने गर्दछ। त्यसैले गाईभैंसीहरूलाई गोठमा बाँधिएको थियो। गोठनजीकै युवाहरू गफिइरहेका थिए। गाईभैंसीहरूको ‘बाँ–बाँ’को आवाजसँगै खुट्टाको खडबडले गोठ हल्लिइरहेको थियो। युवाहरूले के भयो ? भन्दै जाउँ हेरौं भन्न थाले। गोठमा ढोकाको रूपमा जुटको बोराको पर्दा झुन्ड्याइएको थियो। केटाहरूले पर्दा हटाएपछि सबै कुरा बेपर्दा भयो।
पहुना जस्तै कदकाठीका मानिस गोठमा थियो। यद्यपि उनलाई चिन्न सहज थिएन। गोठघरको एक भागमा गाईभैंसीहरू बाँधिएका थिए। अर्को भागमा परालको भुुसले भरिएको थियो। सोही ‘भुसौली’ (भुस राख्ने घरलाई भुसौली भनिन्छ)मा पहुना लुकेका थिए। गोबर र हिलोले भिजेका पहुनाले भुसमाथि चढ्ने प्रयासमा उनको जीउभरि भुस टाँसिएको थियो। अचम्मको प्राणीलाई देखेर गाईभैंसीहरू बाँ–बाँ गर्न थालेका थिए। शायद, गाईभैंसीहरू पनि हलचल गर्दै पहुनालाई जिस्काइरहेका थिए।
साँझको बेला थियो। पहुनाले कोला र भुसौलीमा लुकेको क्षण कहिल्यै नबिर्सने बताउँदै आत्मसमर्पण गरे। प्रायः होलीमा जो भाग्छन्, ऊ नै लक्ष्य बन्दछन्। दिनभरिको थकानले सबै पस्त थिए। दिनभरिको होलीको चर्चासँगै हाँसो र ठट्टा हुँदै थियो। सोहीबेला वयस्कहरूले ढोलक, नाल र झालको तालमा गाइरहेको होलीको गीतमा ध्यान गयो। पहुना र युवाहरू पनि होलीको साङ्गीतिक कार्यक्रममा सहभागी भए। ताली बजाएर साथ दिन थाले।