वैधनाथ ठाकुर

भारतीय महानगर कोलकाताको श्यामबजारको एउटा चियापसलमा खोलिएको २००६ सालको पहिलो नेपाल कम्युनिस्ट पार्टी आजको मितिसम्म आइपुग्दा एकहत्तर हिउँद पार गरेको छ। यसबीच हजारौं जनता मुक्तिको नाममा शहीद भएका छन्। हजारौं आमाको काख रित्तिएको छ। हजारौं चेलीको सिन्दूर पुछिएको छ। तर आज यी सबै शहादतको प्रतिफल जनताले के पायो भनेर सिंहावलोकन गर्दा उही हात लाग्यो शून्यको अवस्थाभन्दा केही फरक छैन।
नेपाल कम्युनिस्ट पार्टी गठन हुनुभन्दा दुई वर्ष पहिला अर्थात् २००४ सालमा नेपाली काङ्ग्रेस पार्टी खोलिएको थियो। नेपालमा प्रजातन्त्र स्थापना गर्न काङ्ग्रेसले पनि हतियार नउठाएको होइन। राजा महेन्द्रमाथि बम हान्ने होस् अथवा शान्ति सेना बनाएर राणाशासनविरुद्ध सशस्त्र विद्रोहको बिगुल फुक्ने होस् सदैव नेपाली काङ्ग्रेस अग्रपङ्क्तिमा उभिएर लडेकै हो। सयौं काङ्ग्रेस कार्यकर्ता त्यस आन्दोलनमा पनि मारिएकै हुन्। काङ्ग्रेसका नेताहरूले पनि जेलनेल भोगेकै हुन्। तर यतिबेलासम्म प्रायः सत्तामा रहँदै आएको नेपाली काङ्ग्रेसले आम जनसमुदायको जनजीविकाको लागि के ग–यो त भनी प्रश्नको उत्तर खोज्दा उही हात लाग्यो शून्यको अवस्था नै छ।
नेपाली काङ्ग्रेसले मुलुक बर्बाद पा–यो भनेर राजा महेन्द्रले २०१७ सालमा सत्ता आफ्नो हातमा लिएर चलाएको निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्था पनि बत्तीस वर्ष चल्दा आखिर जनताले के पायो भनी खोज्दा उही हात लाग्यो शून्य नै हो।
राणाशासनको १०४ वर्षलाई कालरात्रि भनेर भनिए तापनि राजाको शासनलाई पनि सुनौलो दिन भन्न सकिने ठाउँ कतै देखिंदैन। भन्नलाई राणाकालमा सतीप्रथा, दासप्रथा जस्ता सामाजिक कुरीतिको उन्मूलनको घोषणा गरियो। त्यति बेलामैं केही कलकारखाना र विद्यालयसमेत देशमा पहिलोचोटि खुले तर यी कुराले राणाहरूलाई विकासप्रेमी तथा जनमैत्री शासक भन्न सकिन्न।
गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो सानो राज्य विस्तार गर्ने क्रममा नेपालको एकीकरण हुन पुगे पनि वास्तवमा पृथ्वीनारायण शाह नेपालमा बसोबास गरिरहेका मधेस, पहाड, हिमालका एक सयभन्दा बढी जातजाति तथा भाषाभाषीहरूको भावनात्मक एकता वा एकीकरण गर्नुको साटो गोरखाका सबै कुरा बल प्रयोग गरी लाद्ने प्रयास गरे। जसले गर्दा लामो समयसम्म नेपाल एउटा देश भएपनि राष्ट्र हुन सकेन। राजाहरूकै पहिलो कालखण्डमा पूर्व–पश्चिम राजमार्ग तथा विभिन्न प्रकारका आधुनिक कारखानाहरूसमेत खुले। यति हुँदाहुँदै पनि राजाहरू विकासप्रेमी र प्रजातान्त्रिक, उदारवादी थिए भनेर भन्न सकिने ठाउँ कतै पनि देखिंदैन। जनताको नाममा २००७ सालपछाडि आजसम्म सबैभन्दा बढी पञ्चपछि कोही शासन सत्तामा पुग्यो भने त्यो हो नेपाली काङ्ग्रेस। प्रजातन्त्र तथा समाजवादको नारालाई सबैभन्दा बढी भजाएर खाने, जनतालाई लुट्ने, देश बर्बाद गर्ने पार्टी कुन हो भन्दा नेपाली काङ्ग्रेस यदि भनिन्छ भने त्यो धेरै हदसम्म सत्य नै होला। पञ्चहरूको नातावाद, कृपावाद र फरियावादको राजनीतिबाट नेपाली काङ्ग्रेस पनि मुक्त भएको पाइएन। लामो शासनकालमा काण्डैकाण्ड मचाएर राष्ट्रको ढुकुटी लुटेर तथा राज्यद्वारा संस्थागतरूपमा भ्रष्टाचार र कमिशनतन्त्रलाई स्थापित गरेर देशलाई बर्बाद पार्ने पार्टी नै नेपाली काङ्ग्रेस हो।
लामो समयदेखि रूसी समाजवाद र पश्चिमा बुर्जुवा प्रजातन्त्रको अन्तरविरोधले संसारको राजनीतिलाई प्रभावित पार्दै आयो। चिनियाँ क्रान्तिपश्चात् चीनले गरेको अत्यधिक प्रगतिले संसारको टाउको दुखाइ नै रह्यो। पश्चिमा राष्ट्रहरूको नाइके अमेरिकालाई नेपालबाट चीन नियाल्न बढी सजिलो हुने तथा भारतजस्तो विशाल देश जो सधैंभरि रूसी राजनीतिको प्रभावमा रह्यो, यसले गर्दा पनि अन्तर्राष्ट्रिय राजनीतिमा नेपाल निकै सामरिक महत्वको रूपमा रहन गयो र अझै छ पनि। यस पृष्ठभूमिमा नेपालमा समाजवादी आन्दोलन राम्रै चल्ने पूर्वाधार तयार भयो। निरन्तरको बढ्दो गरीबी, अकासिंदो महँगी तथा संस्थागत भ्रष्टाचार, कमिशनखोरी र बेरोजगारीले आममानिसमा समाजवादप्रति आकर्षण हुनु स्वाभाविक थियो। यही अवस्थाको फाइदा उठाएर २०२८ सालमा झापामा भारतीय नक्सलवादी सशस्त्र आन्दोलनको प्रभावले हतियार उठेको थियो। जसलाई निर्ममतापूर्वक दमन गरियो।
समाजभित्र रहेका सामाजिक, आर्थिक, सांस्कृतिक विभेदले भित्रभित्रै भुसको आगोजस्तै सल्किंदै थियो। यस्तोमा माओवादी विद्रोह दश वर्षसम्म चल्यो, जसले देशलाई आर्थिकरूपमा निकै पछाडि धकेल्ने काम ग–यो। माओवादीहरूले सत्ता कब्जा गरेर समाजवाद सबै क्षेत्रमा लागू गर्ने र समानता कायम गरेर समृद्ध नेपाल निर्माण गर्ने सपना देखाएकाले जनताको समर्थनमा एक हदसम्म सफलता पनि पाएका थिए। सयकडौं घाइते, अपाङ्ग तथा शरीरभित्र गोली बोकेका योद्धाहरूको भावनालाई कुठाराघात गर्दै माओवादी शान्ति प्रक्रियाको नाममा संसदीय गोलचक्करमा फस्नको लागि राज्यसँग आत्मसमर्पण ग–यो, अनेकौं शब्दको जाल बुनेर। बिस्तारै माओवादी पार्टी क्षतविक्षत भयो। पार्टीका नेतृत्व एक/एक गरी पार्टी परित्याग गरे। पार्टी नातावाद र अराजकताको भुमरीमा यसरी फस्यो कि नेकपा एमालेजस्ता बुर्जुवा कम्युनिस्टसँग एकीकृत हुन पुग्यो। यी सबै काम कुराको विरोध गर्ने एकीकृत जनक्रान्तिको नीति लिएको नेकपा क्रान्तिकारी विप्लवसमेत संसदीय राजनीतिमा आइसकेका छन्। भोलिका दिनमा नेकपा माओवादी केन्द्र तथा समाजवादी पार्टीका उपेन्द्र यादव, बाबूराम समूह एउटै पार्टी बन्ने वा संयुक्त कार्यनीति बनाएर सरकार बनाउने भएपनि यसले जनतामा गुमेको कम्युनिस्ट आकर्षण फिर्ता नहुने पक्का छ। नेकपा एमाले, विप्लव तथा जसपाका महन्थ ठाकुर समूह मिलेर सरकार बनाउन तत्पर भएमा कुनै आश्चर्य मान्नुपर्दैन।
जेहोस्, नेपाली राजनीतिमा पहिलोचोटि झन्डै दुई तिहाइ बहुमत दिएर जनताले पठाएको कम्युनिस्टहरूको चालामालाले आम नागरिक क्षुब्ध छन्। संसदीय राजनीतिभन्दा बाहिर रहेका वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा वैद्य तथा नेकपा ऋषि कट्टेल समूहप्रति जनताले अब फेरि कम्युनिस्टको नाममा विश्वास किन गर्ने ? भोलि सत्तामा गएपछि यिनीहरू बिग्रँदैनन् भन्ने के ग्यारेन्टी जस्ता प्रश्न यतिबेला युवा जमातले उठाइरहेका छन्। यस्तो फेरि पनि निधार खुम्च्याएर एकचोटि सोच्नैपर्छ– के नेपालमा अब वाम आन्दोलन सकिएकै हो त ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here