प्रस, परवानीपुर, ५ चैत/
पर्सा र बारामा मेशिनबाट लगाइएको हिउँदे बाली गहुँ, मकै र उखुको अनुगमन गरिएको छ।
कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा सरोकारवालाको टोलीले पर्साको बिजवनियामा लगाइएको गहुँखेती र बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको खेस्रोलमा लगाइएको मकै र उखु खेतीको अनुगमन गरेको कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख इन्जिनीयर सचिनकुमार मिश्रले जानकारी दिए।
बिजवनियामा सातजना किसानले २७ बिघामा लगाएको गहुँबालीको अनुगमन गरिएको थियो भने जीतपुरसिमरा उपमनपा–११ खेस्रोलमा १० हेक्टर क्षेत्रफलमा लगाइएको मकैखेती र ८ बिघामा लगाइएको उखुखेतीको अवलोकन गरिएको थियो। आधुनिक युगमा मजदूरको अभाव भएपछि केन्द्रले आधुनिक प्रविधिको मेशिन विकसित गरेको छ, जसले गर्दा कम लागतमा बढी उत्पादन लिन सकिन्छ। सोही विषयमा विगत एक वर्षदेखि गरिएको अनुसन्धानमूलक खेतीको अनुगमन गरिएको हो।
अनुगमन टोलीमा केन्द्रका वैज्ञानिक तथा विशेषज्ञसहित कृषि अनुसन्धान निर्देशनालय प्रदेश २ परवानीपुरका निमित्त निर्देशक जङ्गबहादुर साह, कृषि ज्ञान केन्द्र पर्साका बागवानी अधिकृत श्यामकिशोर कुर्मी, कृषि ज्ञान केन्द्र बाराका कृषि अधिकृत गेनालाल मण्डल, पर्सा/बाराका १५/१५ गरी ३० जना किसान र सञ्चारकर्मीलगायतको सहभागिता थियो।