प्रस, जीतपुर, ४ चैत/
जिल्ला प्रहरी कार्यालय, बाराले जीतपुरसिमरा उपमहानगर–२३ भलुही निवासी १४ वर्षीय साहिद हुसेन मियाँको हत्या सम्बन्धमा तीनजना युवकलाई पक्राउ गरी बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय, बारामा आयोजित पत्रकार सम्मेलनमा सोही टोलका २५ वर्षीय क्यामुद्दीन मन्सुरी, २१ वर्षीय अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेद्दीन मियाँ अन्सारीले साहिदको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए। फागुन ११ गतेदेखि हराएका साहिदको शव २८ गते जीतपुरसिमरा उपमहानगर–१० बेहरास्थित फैक्ट्रीको फोहर फाल्ने डम्पिङ साइटमा सडेगलेको अवस्थामा बरामद भएको थियो। जिप्रका बाराका प्रवक्ता एवं प्रनाउ गौतम मिश्र नेतृत्वको अनुसन्धान टोलीले तीनजना अभियुक्तलाई सो घटना सम्बन्धमा पक्राउ गरेको पत्रकार सम्मेलनमा बताइएको थियो। पक्राउ परेका तीनजना र मृतक साहिद लागूऔषध प्रयोगकर्ता भएको र सो दिन गाउँमा जन्ती आएको बेला बाहिर निस्केका साहिदलाई अमर हुसेनले गाँजा खानको लागि घटनास्थलमा लिएर गएको र त्यहीं थप दुईजना आबेद्दीन र क्यामुद्दीन रहेको र उनीहरूले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ। मृतक साहिदलाई घाँटी थिचेर ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको र दाबले खुट्टा, कम्मर, ढाडमा प्रहार गरेको प्रहरीले दाबी गरेको छ।
हत्यापछि तीनैजनाले साहिदलाई घिसार्दै खाल्डोमा पुरेर भागेको बयान दिएको पत्रकार सम्मेलनमा प्रहरीले बताएको छ। हत्याको कारण पारिवारिक तथा जग्गाजमीनसम्बन्धी विवाद, प्रेम सम्बन्ध, रिसइबी रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here