प्रस, वीरगंज, ४ चैत/
जिल्ला समन्वय समिति, बाराको ११औं जिल्ला समन्वय बैठक सम्पन्न भएको छ।
बैठकको उद्घाटन जिसस बाराका सभापति नवलकिशोर सिंहले गरेका थिए। कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सबै स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने बताए। उनले स्थानीय तहमा सामाजिक अपराधका घटनाहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय सरकार यसको न्यूनीकरणमा अग्रसर हुनुपर्ने बताए। उनले प्रहरी प्रशासनले मात्र सामाजिक विकृतिका घटनाहरू नियन्त्रण गर्न नसक्ने र त्यसमा स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्ने बताए। उनले जिल्लामा बढ्दो तस्करी, लागूऔषधका घटनाप्रति पनि चिन्ता व्यक्त गरे। सबैखाले विकृतिविरुद्ध सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिरहेको बताए। उनले स्थानीय तहसँगको सहकार्य र समन्वयमा सामाजिक विकृतिका घटनाविरुद्ध प्रहरीले अभियान चलाउने बताए।
महिला सञ्जालकी लक्ष्मी रायले जबरजस्ती करणी, किशोरी अपहरणका घटना बढिरहेकामा चिन्ता व्यक्त गरिन्।
बैठकमा कलैया उपमहानगरका प्रमुख राजेशराय यादव, गापा प्रमुखहरू भोलाप्रसाद गुप्ता, महेन्द्रप्रसाद यादव, भुवनेश्वर धामी, उपप्रमुखहरू चित्रलेखा चौधरी, सरस्वती चौधरी, गीता साहलगायतको सहभागिता थियो।
कार्यक्रमको सहजीकरण कलैया उमनपा वातावरण शाखाका प्रमुख रामजी मण्डलले गरेका थिए।