प्रस, रौतहट, ४ चैत/
नेपाल विश्वकर्मा सङ्घ रौतहटको आयोजनामा रौतहटको जयनगरमा शुरू भएको फर्निचर मेला उत्साहजनक नभएको व्यापारीहरूले बताएका छन्। शिवरात्रिको अवसरमा शुरू गरिएको फर्निचर मेलामा रौतहट, बारा र सर्लाहीका व्यापारीहरूले स्टल राखेका छन्।उक्त स्टलमा स्थानीयस्तरमा उत्पादित काठका साथै फलामका फर्निचर तथा औजारहरू राखिएका छन्। विभिन्न फर्निचर सामग्री तथा औजारहरू उपभोक्ताले एकै स्थानबाट खरीद गर्न पाउने गरी सञ्चालित मेलामा विगत वर्षहरूभन्दा कारोबार कम भइरहेको व्यापारीहरूले बताएका छन्।
विगतमा छिमेकी जिल्लाका साथै सीमापारि भारतबाट समेत खरीदकर्ताहरू मेलामा आउने गरेका थिए। यस वर्ष कोभिडको कारण सीमानाका आंशिक मात्रै खुला छ। छिमेकी जिल्लाका उपभोक्ताहरू पनि कोभिडको कारण क्रयशक्तिमा कमी आएकोले मेलामा खासै उपस्थिति नभएको व्यापारी जयमङ्गल ठाकुरले बताए।