प्रस, वीरगंज, ४ चैत/
वीरगंजलगायत पर्सा जिल्लाभरि अहिले भारतीय पेय पदार्थहरू तस्करीको माध्यमबाट भित्रिंदै छन्। फागु पूर्णिमालाई लक्षित गरेर बर्सेनि भारतीय कोक, फेन्टा, स्प्राइट, मैङ्गो जुस बजारभरि छ्याप्छ्याप्ती छन्।
नेपालमा उत्पादित यी पेय पदार्थहरू भारतबाट तस्करीको माध्यमबाट आउँदा राजस्वमा प्रतिकूल असर परेको छ। नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएको र खुला सीमानाकाबाट भित्रिने क्रम जारी रहेको व्यवसायीहरूले बताएका छन्। लकडाउन र चीसोपछि फागु पूर्णिमामा पेय पदार्थहरूको सबैभन्दा बढी बिक्री हुने गरेको र यसै बेलामा भारतीय पेय पदार्थहरू तस्करीबाट भित्रिएको कारण व्यवसायमा घाटा भएको र राजस्व प्रभावित हुने बताइएको छ। यसैक्रममा प्रहरीले मङ्गलवार वीरगंजका केही पसलमा छापा मारी रु ३ लाख बराबरको पेय पदार्थ जफत गरेको छ।
छापामारीको क्रममा वीरगंज–२५ निवासी ३६ वर्षीय रामबाबू पटेललाई पक्राउ गरेको छ। पक्राउ पर्ने पटेलमाथि राजस्व छली, चोरी कसूर मुद्दा लगाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।