प्रस, पर्सागढी, ३ चैत/
पर्सागढी नगरपालिका–४ बर्वाटाँडीमा निर्माण हुन लागेको वडा कार्यालय भवनको विषयलाई लिएर वडाध्यक्ष र वडासदस्यबीच विवाद भएपछि काम रोकिएको छ।
आव २०७७/०७८ को लागि वडा कार्यालय भवन निर्माण गर्न नगरपालिकाले रु २० लाख पठाएको थियो। उपभोक्ता समिति गठन गरेर सो रकमबाट भवन निर्माणको अधूरो काम अगाडि बढाउनुपर्नेमा वडासदस्य रामप्रसाद पाठकले वडाध्यक्ष समसुद्दीन शाह देवानलाई बेवास्ता गरी उपभोक्ता समिति बनाएपछि विवाद भएको हो। गत वर्षदेखि शुरू भएको सो भवन निर्माणको काम यस वर्ष आएको बजेटबाट वडा नं ४ मा रहेको ९ वटा टोलका मानिसलाई सहभागी गराइ उपभोक्ता समिति बनाउनुपर्ने वडाध्यक्ष देवानको भनाइ छ। तर वडासदस्य पाठकले आफन्तहरूलाई सहभागी गराएर उपभोक्ता समिति बनाएको कारण वडाध्यक्षले सो समितिलाई अवैधानिक ठहर गरेपछि मङ्गलवार वडासदस्य पाठकविरुद्ध स्थानीयहरूले होहल्ला गरेका थिए।
नगरप्रमुख लोकनारायण यादवले तत्काल काम रोक्न अथवा आफूले सो विवाद मिलाएपछि मात्र काम शुरू गर्न निर्देशन दिएका छन्। वडा कार्यालय भवन निर्माणको लागि गत वर्ष रु साढे २१ लाख विनियोजित भएको थियो।