ओली नेतृत्वको सरकारमा काङ्ग्रेस जाँदैन –सिटौला

0

प्रस, सप्तरी, ३ चैत/
नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले केपीशर्मा ओली नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेसले सहकार्य नगर्ने बताएका छन्। सिटौलाले ओलीको विश्वास गर्न नसकिने र उनमा राजनीतिक इमानदारिता नरहेको आरोप लगाए।
मङ्गलवार सप्तरीको राजविराजमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकारमा जान तयारी भइरहेको जानकारी दिए।
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नयाँ सरकार गठनबारे केही कुरा आउन सक्ने भन्दै उनले काङ्ग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा अबको सरकार बन्नुपर्ने दाबी गरे। “काङ्ग्रेस नेतृत्वको सरकारले मात्रै अब मुलुकलाई निकास दिन सक्छ,” सिटौलाको कथन थियो।
पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलाले भने, “सर्वोच्चको फैसला लगत्तै प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो। तर प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा राजीनामा दिने लक्षण पनि देखिंदैन।” अब माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्यात्मक स्थिति आउने र विश्वासको मत लिन नसके स्वतः सरकर ढल्ने सिटौलाले बताए।
मतदाताले प्रतिपक्षको भूमिकामा आफूहरूलाई राखेको भए तापनि लोकतन्त्र र संवैधानिक व्यवस्था बचाउन आवश्यक परेमा सरकारको नेतृत्व लिन पार्टी सभापतिलाई सुझाव दिइसकेको उनले बताए। पार्टी सरकारमा गए वा नगए पनि पार्टीको महाधिवेशन प्रभावित हुनु नहुने तर्क गर्दै सिटौलाले निर्धारित मिति आगामी भदौ महीनामा महाधिवेशन हुनै पर्ने बताए। महाधिवेशनमा सभापति पदका लागि आवश्यक परे तयारी गरिने उनले जनाउ दिएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here