प्रस, ठोरी, ३ चैत/
पर्साको ठोरी गापा–४ आठघरेमा यही चैत १२ देखि २२ गतेसम्म हुने ठोरी कृषि तथा सांस्कृतिक महोत्सव–२०७७ को तयारी शुरू भएको छ।
चौतारी कृषि सहकारी संस्था लिमिटेड ठोरी–४ को आयोजनामा सञ्चालन हुन लागेको महोत्सवको द लिड इन्टरटेनमेन्ट एन्ड एडभरटाइजिङ वीरगंज सहप्रायोजक र इभेन्ट व्यवस्थापक प्रदेश मिडिया प्रालि रहेको आयोजकले मङ्गलवार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।ठोरी गाउँकार्यपालिका कार्यालय घ्याङ्डाँडामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष निमा लामाले ठोरी क्षेत्रको पर्यटन तथा कृषि बजार प्रवर्धन एवं विविध सांस्कृतिक पक्ष उजागर गर्नका लागि महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे।
महोत्सवमा कृषि, मनोरञ्जनात्मक बाल उद्यानलगायत एक सयभन्दा धेरै व्यापारिक स्टल, खानाका विभिन्न परिकार र दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ। सो अवसरमा ठोरी डान्स आइडल–२०७७ को आयोजनाको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।
पत्रकार सम्मेलनमा वडाध्यक्ष बईबहादुर तामाङ, महोत्सव संयोजक सागर लामालगायतको सहभागिता
थियो।