‘जनमतको आधारमा पनि कम्युनिस्ट पार्टीले सत्ता कब्जा गर्न सक्छ,’ भन्ने मान्यतामा जनताको बहुदलीय जनवाद अँगालेका नेकपा एमाले र १२ वर्ष सशस्त्र भूमिगत विद्रोहको भट्टीबाट आएको नेकपा माओवादी केन्द्रबीचको एकीकरण विश्व कम्युनिस्ट आन्दोलनको लागि एउटा पाठ थियो। पूँजीवादी र साम्यवादीबीचको प्रतिस्पर्र्धामा नेपाली कम्युनिस्टहरूको प्रयास एउटा प्रयोग पनि हो। ‘जनताको बहुदलीय जनवाद’ र ‘नौलो जनवाद’को लक्ष्य लिएका दुई कम्युनिस्ट पार्टी अन्तिम लक्ष्यको बारेमा एकमत नभए पनि त्यसलाई दुवैतर्फको सार तत्व समेटिने गरी ‘एक्काइसौं शताब्दीको जनवाद’ नामकरण गरेर एउटै पथमा हिंड्ने तय भएको थियो। यद्यपि उक्त दुवै धारको मुद्दा एकताको राष्ट्रिय महाधिवेशनमा लान पाउने सहमति भएको थियो। भाषा, शब्द, अक्षर र एउटा मात्रामा समेत मत बाझिंदा विभाजन भइजाने कम्युनिस्ट पार्टीहरूको रोग नै हो। संसारकै कम्युनिस्टहरूको समस्या करीब मिल्छ। हरेक मुुलुकमा थरीथरीका कम्युनिस्ट पार्टी छन्, विभाजनका कारण उनीहरू कमजोर छन्। यो अवस्थामा नेपाली कम्युनिस्टहरूको प्रयोगलाई महत्वका साथ नियालिएको थियो। मुलुकमा झन्डै दुई तिहाइको कम्युनिस्ट सरकार गठन हुँदा ‘जनमतकै बलमा पनि लक्ष्य पहिल्याउन सकिन्छ’ भन्ने भरोसा विश्व कम्युनिस्टमा पर्न थालेको थियो। तर नेकपाको गाईजात्राले उनीहरूको भरोसालाई चकनाचुर पारिदिएको छ।
मुलुकमा करीब सात दशकको अवधिमा धेरै उथलपुथल भएका छन्। जहानियाँ राणाशासन, बहुदलीय शासन व्यवस्था, एकदलीय पञ्चायती व्यवस्था, सक्रिय राजतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुकले भोगेको छ। व्यवस्था सञ्चालनमा राजनीतिक दल र तिनका उद्देश्यमा भर पर्ने तथ्य बुझेका नेपाली एकपटक कम्युनिस्ट पार्टीको एकलौटी सरकार हेर्न लालायीत थिए। मुलुकको परिवर्तन साम्यवादीहरूबाट सम्भव छ भन्ने आशा थियो। छोटो अवधिमा केही कम्युनिस्ट अगुवाले देखाएको निष्ठाप्रति विश्वास पनि थियो। कम्युनिस्ट पार्टी विभाजित रहँदा जनअपेक्षा पूरा हुन पाएको थिएन। जब दुई ठूला कम्युनिस्ट पार्टी मिलेर ‘नेकपा’ बन्यो, तब मौका चुक्न नदिई मतदाताले उक्त दललाई अत्यधिक बहुमत दिए। जनमत तथा जनभावनालाई बुझ्न नसकेका कम्युनिस्ट नेताहरूको गति छाडा चालले भने मुलुकवासीको आशा, भरोसा तथा विश्वासमा कुठाराघात भएको छ।
अदालतले माओवादी केन्द्र र एमालेलाई पूर्ववत् अवस्थामा नफर्काएको भएपनि नेकपा फुटिसकेको थियो। उनीहरूबीच नाम र चुनाव चिह्न हत्याउने तिकडमबाजी चलिरहेको बेला अदालतको फैसला आएको हो। दुई तिहाइनजीक पुगेको कम्युनिस्ट पार्टी दुई फ्याक मात्रै नभएर अघोषितरूपमा पाँच टुक्रा भइसकेको छ। प्रचण्ड र बादल समूहबीच विभाजन भयो। बादल अहिले ओलीको पार्टीमा देखिन थाले पनि स्वार्थ बाँझिने बित्तिकै फेरि टुक्रा पर्छ। ओली र नेपाल समूह टुक्रिसकेको छ। वामदेव समूह पनि आफ्नै तयारीमा छ। उता प्रचण्ड र नारायणकाजीहरू एउटै पार्टीमा भएपनि प्रतिशत कोटाको भरमा जोडिएको हो। स्पष्ट विभाजित भएपनि सांसद पदको ग्लुले केही समूह जोडिएको जस्तो देखिएका छन्। चुनाव घोषणा भइजाने हो भने को कता पुग्छन् भन्न सकिन्न। अर्कोतर्फ पार्टी जति कमजोर हुँदै जान्छ, टुक्रा पर्ने क्रम पनि त्यति नै बढी हुन्छ। जुन क्रम शुरू भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here