प्रस, वीरगंज, १ चैत/
३५ वर्षअघि वीरगंज नगर विकास समितिले प्लटिङ गरी बिक्री गरेको जग्गा सम्बन्धमा उदासीनता देखाएको छ। साबिक श्रीसिया खल्वाटोला गाविस, हाल वीरगंज–२५ श्रीसिया–ड्राइपोर्टको पूर्वपट्टि वीरगंज नगर विकास समितिले २० बिघा जग्गा प्लटिङ गरी बिक्री गरेको तर आवश्यक प्रक्रिया पूरा नगर्दा जग्गाधनीहरूले करीब ३५ वर्षदेखि जग्गा उपभोग गर्न पFएका छैनन्।
२०४२ सालमा तत्कालीन वीरगंज नगर पञ्चायत अन्तर्गतको वीरगंज नगर विकास समितिले सो क्ष्Fेत्रको २० बिघा जग्गामा १६ धुर र २४ धुरको ३४२ वटा कित्ता प्लटिङ गरी टेन्डर आह्वान गरेर बिक्री गरेको थियो। त्यति बेला १६ धुरको १० हजार र २४ धुरको १५ हजार रुपैयाँमा बिक्री भएको थियो। शुरूमा वीरगंजकै प्राध्यापक, कर्मचारी, इन्जिनीयरलगायतको कोलोनीको रूपमा विकास गर्ने लक्ष्य राखे तापनि उनीहरूलाई प्लट किन्न रकम अभाव भएपछि पर्सा जिल्लामा कार्यरत सरकारी कर्मचारीहरूलाई पनि किस्ताबन्दीमा ती प्लटहरू बिक्री गरिएको थियो।
तत्कालीन वीरगंज नगर पञ्चायत, वीरगंज उपमहानगरपालिकाबाट महानगरपालिकामा परिणत भए तापनि अहिलेसम्म सो जग्गाको ३४२ वटा प्लट कसको कहाँ छ भनेर नछुट्याइएको कारण जग्गाधनीहरूले जग्गा उपभोग गर्न नपाएका हुन्। २० बिघाभित्र दुईवटा ६० फिट चौडा सडक र अन्य ठाउँमा ४० र ३५ फिटको बाटो निकालिसकिएको छ।
सो प्लटमा छुट्टाछुट्टै क्षेत्रफलका चारवटा कित्ता नछुट्याउँदा ३५ वर्षअघि खरीद गरेका जग्गाधनीहरू समस्यामा परेका हुन्। नगर विकास समिति अहिले वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा आइसकेको छ। तर कर्मचारीको अभाव र समितिका पदाधिकारीहरूको उदासीनताका कारण प्लटको क्षेत्रफल छुट्याउन ढिलाइ भइरहेको बताइएको छ।
वीरगंज नगर विकास समितिका पूर्वअध्यक्ष हाल वीरगंज महानगरका बोर्ड सदस्य अरविन्द गुप्ताले आफूले २०७३ सालमा उक्त २० बिघा जग्गाको चार किल्ला छुट्याउन टेन्डर निकालेर उक्त काम भ्याइसकेको र अहिले नगर विकास समितिमा नापी सर्वेक्षकको पद खाली रहेकोले नापनक्शा गरी प्लटहरूको सीमाङ्कन गर्न नसकिएको बताए।
गुप्ताले वीरगंजका नगरप्रमुख र नगर विकास समितिका पदाधिकारीहरूले चाहेमा पाँच दिनमा जग्गा सीमाङ्कनको काम सकिने बताए। प्लट छुट्याउन टेन्डर निकालेर पनि गर्न सकिने उनको सुझाव छ।
नगरप्रमुख सरावगीले टाउन प्लानिड्ढो श्रीसिया जग्गाको बारेमा अहिलेको प्रगतिबारे जानकारी नभएको बताउँदै कर्मचारीहरूलाई जिम्मा लगाएको र बुझेर बताउने जवाफ दिए।
उकुसमुकुसमा प्लटधनीहरू
वीरगंज–२५ स्थित (लक्ष्मी आयलभन्दा दक्षिण) खलवाटोला, मौजे श्रीसिया र ड्राइपोर्ट श्रीसियाको बीचमा टाउन प्लानिङ योजना अन्तर्गत ३५ वर्षअगाडि बिक्री गरिएको प्लटको छिनोफानो गर्न स्थानीयहरूले माग गरेका छन्।
उनीहरूले जग्गाको स्वामित्व चाँडै छिनोफानो भएमा जग्गाको भोगचलन गर्न, घर बनाउन वा बिक्री गरेर ठूलो रकम मुनाफा गर्ने सोचमा देखिन्छन्। ड्राइपोर्ट र आइसिपीबीचको ६२ बिघा जग्गा सरकारले अधिग्रहण गरी मुआवजा वितरण शुरू गरेपछि बस्ती स्थानान्तरण हुँदा सयौं जनाले अर्को ठाउँमा जग्गा किन्छन् र घर बनाउँछन्।
यसैको मौकामा यदि उक्त जग्गाको निक्र्योल भयो भने १०/१५ हजार रुपैयाँमा खरीद गरिएका ती जग्गाहरूबाट अहिले लाखौं मुनाफा गर्न सकिने स्थानीय केदार महतो बताउँछन्। उनका अनुसार अहिले उक्त प्लटमा मौखिकरूपमा ३० देखि ४० लाख प्रतिकट्ठा मूल्य रहेको बताउँछन्।
जग्गाको छिनोफानो नहुँदा वरपरबाट साँध सँधियारहरूले जग्गा मिच्न थालेकाले यसबारे वीरगंज महानगरपालिका गम्भीर हुनुपर्ने जग्गाधनीको माग छ।
प्लट किन्नेहरूमा श्रीसियाका बासिन्दा न्यून र वीरगंज तथा जिल्लाबाहिरका जग्गाधनीहरू बढी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here