प्रस, परवानीपुर, २९ फागुन/
पौने चार वर्षदेखि पर्सा, बारा क्षेत्रमा बेसहारालाई सहारा दिंदै आएको वीरगंजको मानव सेवा आश्रम अहिले आफैं बेसहारा र साँघुरिदै गएको छ। वीरगंज–११ श्रीपुरमा रहेको मानव सेवा आश्रमको तीन तले भवन आश्रितले भरिभराउ छ। जसले गर्दा व्यवस्थापनमा समस्या भइरहेको छ। मानव सेवा आश्रम प्रदेश २ का इन्चार्ज दिवेश गुप्ताका अनुसार गत २०७४ जेठ १५ गते गणतन्त्र दिवसका दिन एकजना असहायबाट शुरू भएको आश्रममा अहिले २७ महिला, २२ पुरुष र दुईजना बालबालिका गरी ५१ जना आश्रित छन्। उनले करीब एक वर्षदेखि नयाँ घर खोज्दै आएको र तर शान्तिपूर्ण र किफायती दाममा वीरगंजमा सुहाउँदो घर नै नपाएको उनले दुःखेसो पोखे। वीरगंजका केही भवन राम्रो लागे पनि घरधनीले आश्रमको लागि डेरा दिन नमानेको उनको भनाइ छ। अहिलेको घरको भाडा र घरबहाल कर जोदा मासिक करीब ६०–७० हजार रुपैयाँ हुन्छ, जुन वीरगंज महानगरले सहयोग गरेपछि वीरगंजको मानव सेवा आश्रमले सेवा गर्न पाएको छ। २० कोठे तीन तले हालको भवनमा शौचालयको कमी तथा आश्रितको सङ्ख्या बढी भएर सुत्न गा–हो भएको साथै विभिन्न गतिविधि गर्न पनि साँघुरो भएको स्वयंसेवक गुप्ता बताउँछन्। उनले खर्च तथा चन्दा वीरगंजका दाता र महानगरपालिकाले मात्र दिने गरेको तर पर्सा र बाराका अन्य अशक्त तथा असहायलाई उद्धार गरी पठाइदिएपछि झन् समस्या बढ्दै गएको स्वयंसेवकहरूले दुःखेसो पोख्छन्।“आश्रमलाई फोहोर फाल्ने केन्द्रको रूपमा जहाँबाट पनि जसलाई पनि पठाइदिन्छन्, खाद्यान्न, कपडा वा अन्य सेवाको कुरा गर्दा जनप्रतिनिधिहरू नै पछाडि हट्नुहुन्छ, जुन क्षेत्रमा असहाय आमाबुबा भेट्नुहुन्छ, सम्बन्धित पालिकाले पनि सहयोग गरी शरण दिने वातावरण बनाउनुपर्छ,” एकजना स्वयंसेवकले भने।
बाराका कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाबाट पनि धेरैजना असहायलाई पठाउने गरिन्छ। स्वयंसेवकहरूले मानव सेवा आश्रमलाई अन्तै स्थानान्तरण गर्न भवन पत्ता लगाइ सहयोग गर्न आग्रह गरेका छन्। रामजी अधिकारी संस्थापक अध्यक्ष रहेको मानव सेवा आश्रम आजको समयमा सातवटा प्रदेशका चार जिल्लामा २२ वटा केन्द्रमार्फत सञ्चालनमा छ। नेपालमा १६ सय ५० जना आश्रितलाई शरण दिएको मानव सेवा आश्रम स्थानीय पालिकाको आर्थिक सहयोग, भोजन सेवा, विवाहिक वर्षगाँठ, जन्मोत्सव, पितृ स्मृति दिवस, मासिक दान एवं खाद्यान्न सहयोगबाट आश्रमको खर्च चल्ने गरेको छ। बिहान ६ देखि ७ बजेसम्म उठाएर नित्य कर्म गराएर चिया बिस्कुट वा दूध पाउरोटी, साढे १० बजे शाकाहारी खाना, २ बजेको नास्तामा प्रत्येक दिन अलग नास्ता र बेलुका साढे ७ बजे खाना र ८ बजे औषधि खुवाएर आश्रितहरूलाई विश्राम कक्षमा पु–याउने दैनिकी रहेको स्वयंसेवकहरूको भनाइ छ। ५१ जनामा १० जनाको मात्र मानसिक सन्तुलन ठीक रहेको, बाँकी अधिकांश मानसिक सन्तुलन गुमाएका अशक्त बिरामी छन्। कतिजनाको ओछ्यानमैं मलमूत्र सफा गर्नुपर्ने अवस्था रहेको छ। मानव सेवा आश्रम वीरगंजमा सानु गुरुङ, मुना लिम्बु, नीरज पटेल, विधान तामाङ र गुप्ता गरी पाँचजना स्वयंमेवकले सेवा दिइरहेका छन्।
गुप्ता प्रदेश २ को हरिवनमा स्थापना भएको मानव सेवा आश्रमको पनि व्यवस्थापनको जिम्मा पाएका छन्। हाल विराटनगर, वीरगंज, हरिवन, हेटौंडा मुख्य कार्यालय, चिवतन, काठमाडौं, भक्तपुर, ललितपुर, बुढानीलकण्ठ, काठमाडौं, पोखरा, लमजुङ्ग, बाग्लुङ्ग, गोरखालगायत २२ वटा केन्द्रमार्फत मानव सेवा आश्रमले बेसहाराहरूलाई सेवा दिइरहेको छ।