नाटकीयरूपमा जाटिया वयोधा अस्पतालमा भर्ना

0

प्रस, वीरगंज, १ चैत/
वीरगंज महानगर–२ छपकैयास्थित श्रीराम कोलोनीको जग्गा ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेका प्रेम जाटिया अहिले अस्पतालमा भर्ना भएका छन्।
गत शनिवार उनी नारायणी अस्पतालमा भर्नाको लागि गएको र त्यहाँका चिकित्सकले उनलाई वयोधा अस्पताल रेफर गरेका थिए।
जाटिया उच्च रक्तचाप र युरिक एसिडको समस्या झेल्दै औषधिसेवन गर्दै आएको नारायणी अस्पतालका चिकित्सकले बताए। नारायणी अस्पतालले रक्तचाप र युरिक एसिडको उपचार गर्न असमर्थता देखाएर वयोधा अस्पताल रेफर गरेको हो।
नारायणी अस्पतालका मेसु डा सञ्जय ठाकुरले अस्पतालमा उच्च रक्तचाप र युरिक एसिडको उपचार सम्भव भएको बताए पनि अन्य कारणले रेफर गरिएको हुन सक्ने बताए। उनले रेफर गर्ने चिकित्सकको नाम सार्वजनिक गरेनन्। प्रेम जाटिया गत शनिवारदेखि वयोधा अस्पतालमा उपचारको नाममा बसेका छन्। प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जाटिया वयोधा अस्पतालमा भर्ना भएको पुष्टि गरे। उनले हिरासतमा रहेका व्यक्तिको स्वास्थ्य उपचार अधिकार प्रयोग गरेर अस्पतालमा भर्ना भएको र त्यहाँ प्रहरीले बयान नलिने बताए। उनले अस्पतालमा जति दिन बिताए पनि त्यहाँबाट रेफर भएको खण्डमा प्रहरी कार्यालयमा बयान लिने र कारबाई प्रक्रिया अगाडि बढाउने बताए। २०६० सालमा श्रीराम कोलोनीको जग्गा गोपाल अग्रवालले खरीद गरेका थिए। मालपोत तथा भूमिसुधार कार्यालयका कर्मचारीको मिलेमतोमा मोही गायब गरी पुनः सो जग्गा २०६२ सालमा प्रेम जाटियाले खरीद गरेका थिए। १७ वटा कित्तामा बिक्री भएको सो जग्गा १५ वर्षपछि मोही हक लाग्नेहरूले खोजीनीति गरेर पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।
मोहीले अदालतमा मुद्दा दायर गरेपछि श्रीराम कोलोनीको जग्गा खरीद गरी भवन निर्माण गरेका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय, पर्सामा सङ्गठित ठगी मुद्दा दायर गरेका थिए। यो जग्गा प्रकरणमा प्रहरीले प्रेम जाटियालाई पक्राउ गर्नुका साथै गोपाल अग्रवाल र मालपोत र भूमिसुधारका कर्मचारीहरूको खोजी गर्दैछ। जग्गा खरीद–बिक्रीमा संलग्न कर्मचारीसमेतलाई कारबाईको दायरामा राखिएको छ।
यसैगरी, १५ वर्षपछि मोहियानी हक खोजीनीति गर्नेहरूविरुद्ध पनि सङ्गठित ठगी अपराध मुद्दा दर्ता छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here