प्रस, वीरगंज, २९ फागुन/
पर्सा प्रहरीले जबरजस्ती करणीको कसूरमा दुईजना र करणीको प्रयास गरेको कसूरमा एकजना गरी तीनजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगर, सखुवाप्रसौनी र पटेर्वासुगौलीबाट तीनजनालाई छुट्टाछुट्टै घटनामा पक्राउ गरेको हो। तीनजना अभियुक्तमध्ये एकजनाले विवाह गर्ने प्रलोभनमा बालिकालाई जबरजस्ती करणी गरेका थिए।
वीरगंज–३१ कटगेनवा बस्ने २२ वर्षीय अनिल कुशवाहाले १९ वर्षीया युवतीलाई २० वर्ष उमेर पुगेपछि विवाह गर्छु भनी २०७६ फागुन १६ गते टिकाटालो (छेका) गरेर उनलाई पटक–पटक करणी गरेका थिए। युवतीको उमेर पुगेपछि कुशवाहाले निजसँग बिहे नगरी अर्की केटीसँग विवाह गर्न लागेपछि उनीविरुद्ध जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता भएपछि प्रहरीले शुक्रवार पक्राउ गरेको थियो। यसैगरी, सखुवाप्रसौनी गापा–५ बलुवा टोल बस्ने १८ वर्षीय रोशनकुमार यादवले वर्ष १६ की किशोरीलाई गत फागुन ११ गते विवाह गर्छु भनी ललाइफकाइ जबरजस्ती करणी गरेको र त्यसपछि फागुन १३ गते घरबाट भगाएर भारतको गोरखपुरको होटलमा राखेर करणी गरेको र पछि घर फर्काएपछि घटना सार्वजनिक हुँदा यादवविरुद्ध परेको मुद्दामा प्रहरीले निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, फागुन २५ गते बिहान साढे ११ बजे २१ वर्षीया महिला गहुँ खेतमा घाँस काटिरहेको अवस्थामा पटेर्वासुगौली गापा–४ अकुवाटोल बस्ने १९ वर्षीय अभिषेक दास थारूले जबरजस्ती करणीको प्रयास गरेका थिए। निजविरुद्ध पनि प्रहरीमा मुद्दा परेको र थारूलाई पक्राउ गरिएको पर्सा प्रहरीले बताएको छ।
पक्राउ परेका तीनैजनाविरुद्ध जबरजस्ती करणीको अभियोगमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here