प्रस, वीरगंज, २९ फागुन/
नेपाल राष्ट्र बैंंक, वीरगंज कार्यालयले बारा जिल्लाको बारागढी गाउँपालिका–६, गडहलस्थित गम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालयमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
वीरगंज कार्यालयका कामु निर्देशक दण्डप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बारागढी गापा अध्यक्ष देवदत्त बछार थारूले उद्घाटन गरेका थिए। कार्यक्रममा गभर्नरको कार्यालयका उपनिर्देशक डा भागवत आचार्यले बैंकिङ तथा वित्तीय प्रणाली, बैंकिङ बानीको विकास तथा विस्तार, वित्तीय चेतना, वित्तीय सुरक्षा, वित्तीय समावेशीकरण एवं वित्तीय सशक्तीकरणबारे जानकारी गराएका थिए। उनले बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य, अधिकार एवं बैंकिङ सेवाको सदुपयोग तथा दुरुपयोग गर्दा हुने परिणामबारे सामान्य जानकारीहरू प्रस्तुत गरेका थिए। यसैगरी, वित्तीय साक्षरताका विभिन्न आयामहरूबारे विस्तृत वार्ता प्रस्तुति पनि गरिएको थियो। उनले बचत गर्ने बानीको विकास र उपायहरू, बैंकिङ सेवा, सफा नोटसम्बन्धी बानीको विकास, आधुनिक बैंकिङ सेवालगायतका विषयमा समेत सरल भाषामा विद्यार्थीहरूलाई जानकारी गराएका थिए।
कार्यक्रममा नेपाल राष्ट्र बैंंक, वीरगंज कार्यालयका सहायक निर्देशक अमिष शर्माले सक्कली र नक्कली नोट छुट्याउने सामान्य विधिहरूबारे प्रयोगात्मक प्रशिक्षण दिएका थिए। त्यस्तै, कामु सहायक निर्देशक दिनेशप्रसाद साहले वित्तीय साक्षरताबारे छलफल चलाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि गापा अध्यक्ष थारूले कार्यक्रमबाट आफूले धेरै कुरा जान्ने मौका पाएको बताए। उनले विद्यार्थीहरूलाई सिकेका कुरा गाउँघर, टोलछिमेक, घरपरिवारमा पनि सिकाउन सुझाए।
कार्यक्रममा उपनिर्देशक आचार्यले विद्यालयको पुस्तकालयका लागि वित्तीय साक्षरताका केही पुस्तक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कामोदप्रसाद सहनी तथा सहप्रधानाध्यापक भूमि चौधरीलाई हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here